• २३ असार २०८१, आइतबार

खाजाको बजेट कटाएर शिक्षकलाई पारिश्रमिक

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन २५ गते । सरकारले बालबालिकाका लागि उपलब्ध गराउँदै आएको दिवा खाजाको बजेटबाट शिक्षकलाई पारिश्रमिक दिँदै आएको पाइएको छ। विद्यालयमा शिक्षक दरबन्दी कम र विद्यार्थी चाप बढी हुँदा निजी स्रोतबाट शिक्षक नियुक्ति गरेर दिवा खाजाको बजेटबाट शिक्षकलाई पारिश्रमिक दिइएको बताइएको छ।

सिमकोट गाउँपालिका –८, साँता याङ्गु गाउँको बलभद्र आधारभूत विद्यालयले २०७३ सालबाट विद्यार्थीलाई उपलब्ध हुने खाजाको रकमबाट शिक्षक नियुक्ति गरेर पारिश्रमिक दिने गरेको जनाएको छ। गाउँपालिकाको शिक्षा समितिद्वारा विद्यालयको अनुगमन गर्ने क्रममा विद्यालय र अभिभावकसँग जानकारी लिँदा सो कुरा थाहा भएको हो। विद्यालयका प्रधानाध्यापक प्रेमकला बुढाले अन्य कुनै विकल्प नभएपछि अभिभावक र विद्यालय व्यवस्थापन समितिको निर्णय गराएर खाजा कार्यक्रमको बजेटबाट शिक्षकलाई पारिश्रमिक दिन थालिएको बताउनुुभयो । उहाँले यसको जानकारी तत्कालीन गाउँ विकास समिति र हालको गाउँपालिकालाई पनि गराइएको दाबी गर्नुभयो ।

विद्यार्थी सङ्ख्या धेरै र शिक्षक दरबन्दी कम भएपछि एक जना शिक्षकलाई मासिक १६ हजार रुपियाँ खाजाको बजेटबाट दिने गरी नियुक्त गरिएको प्रअ बुढाले बताउनुभयो। बाँकी रहेको रकम भने विद्यार्थीलाई नगदै प्रदान गर्ने गरिएको छ। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर रोकायाले दरबन्दी माग गर्दा र गाउँपालिकासँग अनुदान माग गर्दा पनि नपाएपछि सबैको सल्लाहमा खाजाकै बजेटबाट शिक्षक नियुक्ति गर्ने र विद्यार्थीलाई खाजा घरघरबाट अभिभावले पठाउने सहमति भएको बताउनुभयो। 

गाउँपालिका शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले खाजाको बजेट शिक्षकको पारिश्रमिकमा प्रयोग गर्न नमिल्ने बताउँदै अन्य विकल्प खोज्न विद्यालयलाई आग्रह गर्नुभयो। विद्यालयमा १५० जना विद्यार्थी अध्ययनरत छन् भने दुई जना दरबन्दीका शिक्षक कार्यरत छन्।