• १२ साउन २०८१, शनिबार

चलचित्रमा महिला हिंसाको कथा

blog

काठमाडौँ, साउन २५ गते । आलिया भट्ट अभिनित चलचित्र ‘डार्लिंग्स’ नेटफ्लिक्समा रिलिज भएको छ। चलचित्रमा हरेक कलाकारको अभिनय बेजोड छ। आलियाबाहेक विजय बर्मा, रोशन म्याथ्यू र सेफाली शाह जस्ता उत्कृष्ट कलाकार मुख्य भूमिकामा देखिएका छन्। चलचित्रको कथा घरेलु हिंसामा आधारित छ, जहाँ श्रीमान्ले दिनहुँ श्रीमतीलाई यातना दिने गर्छ। यसै चलचित्रबाट आलिया निर्मात्री पनि बनेकी छिन्। 

चलचित्रको कथा मुम्बईको चौलमा बस्ने बद्रु (आलिया भट्ट) र उनका श्रीमान् हमजा (विजय बर्मा)वरपर घुमेको छ। दुवैले प्रेम विवाह गरेका हुन्छन्। बद्रुकी आमा रुखसार (सेफाली शाह) आफ्नै छोरी बस्ने घरको आसपासमा बस्छिन्। रेलवे कम्पनीमा टिकटको काम गर्ने हमजालाई उनको मालिकले टिकट बेच्न लगाउनु्को साटो शौचालय सफा गर्न लगाउने गर्छन्। वास्तवमा उसले उनलाई दैनिक रूपमा नै शौचालय सफा गराउने गरेका हुन्छन् । हमजाको सधैँजसो रक्सी पिउने बानी हुन्छ र केही न केही बहाना बनाएर श्रीमती बद्रुलाई पिट्ने गर्छन्। एक दिन खाना खाइरहेका बेला खानामा उनले ढुङ्गा भेट्टाउँछन् र त्यही बहानामा श्रीमतीलाई कुट्छन्। राति झगडा गर्ने र भोलिपल्ट श्रीमतीसँग माफी माग्ने हमजाको स्वभाव हुन्छ। यद्यपि बद्रु पक्का हुन्छिन् कि हमजा एक न एक दिन अवश्य सुध्रिनेछन्। 

यसैबीच हमजाको दुव्र्यवहार देखेर एक दिन जुल्फी (रोशन म्याथ्यू) जो दुवै आमाछोरीलाई सामान किनबेच गर्ने गर्छन्, हमजाबारे प्रहरीमा उजुरी गरिदिन्छन् तर हमजाको मायाप्रेमका कुरामा लट्ठिएर बद्रुले प्रहरीबाट उजुरी फिर्ता लिन्छिन्। यसैबीचमा बद्रु गर्भवती हुन्छिन् र हमजा रक्सी छाड्न वाचा पनि गर्छन् तर पछि जब हमजालाई उसको प्रहरीमा कसले उजुरी ग-यो भन्ने कुरा थाहा हुन्छ त्यसपछि चलचित्रको कथाले बेग्लै मोड लिन्छ। बद्रुले बच्चा पाउँछिन् कि पाउँदिनन् र हमजाले आफ्नाबारे प्रहरीमा उजुरी दिनेमाथि के कस्तो व्यवहार गर्छन् भन्ने कुरा नै चलचित्रको मुख्य विषय बनेको छ। 

हमजाको व्यवहारले वाक्कदिक्क भएकी बदु्र उनलाई सबक सिकाउन कस्तो निर्णय लिन्छिन् भन्ने कुरालाई पनि चलचित्रमा सही ढङ्गले प्रस्तुत गरिएको छ। उनको हरेक काममा आमा रूखसारले उनलाई साथ दिइरहेकी हुन्छिन्। आमा र छोरी हमजालाई सबक सिकाउन कुन हदसम्म जान्छन्, कथा यही सन्दर्भमा छ।

चलचित्रमा आलियाको अभिनय उत्कृष्ट छ। यस्तै विजय बर्माका लागि यो चलचित्र उनको करिअरकै उत्कृष्ट सावित हुन सक्छ। सेफाली शाहले पनि आफ्नो चरित्रमा न्याय गरेकी छिन्। कसाईको भूमिकामा देखिएका कासिम (राजेश शर्मा) को चरित्रमा भने केही अपूर्णता देखिन्छ। यस्तै रोशन म्याथ्यूको अभिनयलाई पनि हामीले भुल्न हुँदैन। 

निर्देशक जसमित के रेनको यो पहिलो डेब्यु चलचित्र हो। परवेज सेखसँगै मिलेर उनले चलचित्रको कथा लेखेका हुन्। उनले डार्क कमेडी कथालाई पर्दामा निकै राम्रोसँग पस्किएका छन्। सेफाली शाह र आलिया भट्टको अभिनयले नै चलचित्र माथि उठेको छ। मन छुने दृश्य होस् वा कठिन दृश्य निर्देशकले यी दुवैको अभिनयलाई चलचित्रमा सही ढङ्गले उपयोग गरेका छन्।