• १३ साउन २०८१, आइतबार

कार्यालय नै छैनन् अपाङ्गतामैत्री

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, साउन २४ गते । सिन्धुली जिल्लामा रहेका सरकारी कार्यालय अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका सेवाग्राही सास्ती बेहोर्न बाध्य भएका छन्।

अधिकांश सरकारी कार्यालय दुई/तीन तलाको रहेका र सरकारी सेवासुविधा लिन तलमाथि गर्न नसक्दा सास्ती बेहोर्नु परेको अपाङ्गता भएका सेवाग्राहीको गुनासो छ। उनीहरूका अनुसार राज्यले सरकारी तथा सार्वजनिक स्थल, भवन तथा कार्यालय अपाङ्गतामैत्री हुनुपर्ने घोषणा गरेको एक दशक बिते पनि सिन्धुलीमा भने कार्यान्वयन हुन सकेको छैन। 

जिल्लामा रहेका पुराना सरकारी कार्यालय अपाङ्गतामैत्री नभइरहेका बेला भर्खरै निर्माण सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला हुलाक, जिल्ला सरकारी वकिल, जिल्ला सहरी तथा भवनलगायतका कार्यालयमासमेत सुविधा नभएको सरोकारवालाको भनाइ छ।  

सार्वजनिक सरोकार राख्ने यस्ता स्थल अपाङ्गतामैत्री नहुँदा समस्या भोग्दै आएका छन्। जिल्लामा रहेका सरकारी कार्यालय अपाङ्तामैत्री नहुँदा कार्यालय प्रमुखलाई सिधै भेटेर सरकारी सेवासुविधाप्रतिको गुनासो राख्न नसकिएको अपाङ्ग कल्याण सङ्घ सिन्धुलीका निवर्तमान अध्यक्ष इच्छाबहादुर सार्कीले बताउनुभयो। “कार्यालय प्रमुख तथा नगरप्रमुख, उपप्रमुख बस्छन् दुई तला, तीन तलामाथि,” उहाँले भन्नुभयो, “भ-याङ चढेर जान सकिँदैन। भुइँ तलामा कतिबेर कुरेर बस्नु, उहाँहरूको व्यस्तता त्यही हो।”

“हामी ह्विल चियर तथा बैसाखीको भरमा हिँड्नुपर्ने बाध्यता छ,” दुवै खुट्टा अशक्त भएका उहाँले गुनासो गर्दै भन्नुभयो, “यहाँका सरकारी कार्यालयमा सानो सिफारिस लिन जाँदासमेत सहयोगी मान्छे लैजानुपर्छ।” राज्यले हरेक सरकारी भवन अपाङ्गतामैत्री हुनुपर्ने भने पनि जिल्ला अदालत, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, नगरपालिकालगायतका बढी जनसम्पर्क हुने कार्यालयमासमेत यस्तो व्यवस्था नभएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो।

सरकारले २०६० सालमा अपाङ्गतामैत्री भवन निर्माण आचारसंहिता निर्माण गरेको थियो। २०६९ मा ‘भौतिक संरचना र सञ्चार निर्देशिका’ बनेको हो। आचारसंहिता र निर्देशिकामा त्यसयता बन्ने सरकारी तथा सार्वजनिक भवनमा ढोका, भ-याङ, शौचालय तथा सेवासुविधा प्रदान गर्ने स्थल अनिवार्य रूपमा अपाङ्गमैत्री हुनुपर्ने व्यवस्था छ। तर, आचारसंहिता जारी भएयता मात्रै जिल्लामा एक दर्जनभन्दा बढी सरकारी भवन बनेका छन्। ती भवन कुनैमा पनि यस्तो व्यवस्था छैन, 

सार्कीले भन्नुभयो। सिन्धुली अपाङ्ग महिला सङ्घका अनुसार जिल्लामा करिब छ हजारको सङ्ख्यामा अपाङ्गता भएका छन्। “अपाङ्गता भएकाहरू नागरिकता तथा अपाङ्गताको परिचयपत्र बनाउन पनि त्यस्ता कार्यालय नगई हुँदैन,” सङ्घकी कोषाध्यक्ष बबिता थापाले भन्नुभयो, “कार्यालय भवनमा सहजै ह्विल चियर पस्ने कुनै पनि ढोका र भ-याङ छैनन्। बैसाखीको भरमा आउन जान पनि कठिन हुन्छ। शौचालयको त झन् कुरै छाडौँ, अपाङ्गता भएकाले प्रयोग नै गर्न सक्दैनन्।” 

सदरमुकाम सिन्धुलीमाढीस्थित निर्माणाधीन सिन्धुली अस्पताल भने अपाङ्गतामैत्री रहेको छ तर ग्रामीण क्षेत्रका स्वास्थ्य संस्था अपाङ्गतामैत्री नहुँदा सास्ती खेप्नुपरेको उहाँको भनाइ छ।