गोरखापत्र समाचारदाता
ललितपुर, साउन २२ गते ।किरात राई यायोक्खाले गोरखापत्रका सहसम्पादक राजेश चाम्लिङ राईसहित विभिन्न व्यक्तित्वलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
आफ्नो ३५ औँ स्थापना दिवसको अवसरमा यायोक्खाले गोरखापत्र दैनिकका सहसम्पादक चाम्लिङलाई नगद ३० हजार रुपियाँ तथा ताम्रपत्रसहित धनकेसर अम्तहरी राई स्मृति पत्रकारिता पुरस्कार तथा अन्य व्यक्तित्वलाई आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरेवापत विभिन्न पुरस्कार प्रदान गरेको हो ।
पुरस्कृत हुनेहरुमा लेखक तथा पत्रकार कौशल चेम्जोङ, शिवसुन्दर मेवाहाङ राई, डक्टर किरात, शुखकला राई, रोशन राई र सम्झना देवास राई हुनुहुन्छ ।
चेम्जोङलाई २५ हजार रुपियाँ राशिसहित छत्र विष्णु कृति सम्मान, मेवाहाङलाई ३० हजार रुपियाँसहित मदनेस्वरी राई स्मृति पुरस्कार, किरातलाई , किरात १५ हजार रुपियाँसहित राई यायोक्खा संगीत पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी, राईलाई १५ हजार रुपैयाँसहित मोहन सिं भाषिक पत्रकारिता पुरस्कार, रोशनलाई १५ हजार रुपियाँसहित जागिरमान सुभाषी राई सांस्कृतिक भिडियो पुरस्कार देवासलाई ३० हजार रुपियाँसहित मनकुमारी साम्पाङ दुमि राई खेलकुद पुरस्कार प्रदान गरिएको हो ।
किराती राई समुदायको साझा सामुदायिक संस्था यायोक्खाले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसमा राई समुदायबाट विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई पुरस्कृत गर्दै आएको छ ।
कार्यक्रमको अवसरमा यस वर्ष विद्यावारिधि गर्ने, खेलकुदको विभिन्न प्रतियोगितामा उत्कृष्ट बन्ने तथा अन्य क्षेत्रमा सफलता हासिल गर्ने प्रतिभाहरुलाई पनि सम्मान गरेको थियो ।
आइतबार आयोजित पुरस्कार तथा सम्मान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पाले नाम राख्न बाँकी एक मात्र प्रदेश १ को नाम पहिचानमा आधारित हुनुपर्ने बताउनुभयो ।
यायोक्खाका अध्यक्ष दिवस राईले यायोक्खाले बर्सेनि विभिन्न प्रतिभाहरुलाई प्रोत्साहित गर्ने गरेको उल्लेख गर्दै हाल निक्कै जटिल बनाइएको प्रदेश नं. १ को नाम किरात राखिनुपर्ने बताउनुभयो ।