• ४ जेठ २०८१, शुक्रबार

तरकारीका बोराभरि लागूऔषध

blog

काठमाडौँ, साउन १९ गते । तरकारी भरिएको बोराभित्र लुकाएर ल्याएको ठूलो परिमाणको औषधिजन्य लागूऔषध प्रहरीले नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौँको जडीबुटीमा तरकारी बोकेको प्रदेश २–०३–००१ च २५०९ नम्बरको बलेरो खानतलासी गर्दा ठूलो परिमाणको लागूऔषध बरामद गरेको हो। 

भिन्डी र झिँगनी राखेको छवटा बोराभित्र चाङ लगाएर राखेको अवस्थामा एक सय मिलीलिटरका एक हजार १८० थान डायलेक्स–डीसी तथा एक हजार २६० थान नाइट्राभेट ट्याब्लेट र १५० थान प्रोक्सिभन लागूऔषध बरामद गरेको हो।

लागूऔषध नियन्त्रण ब्युरोका निर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालका अनुसार गम्भीर प्रकृतिका बिरामीका लागि दुःखाइ कम गर्ने यी औषधि ६० मिलीलिटरका बोतल चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न मिल्छ तर बरामद यी औषधि नेपालमा बेचबिखन गर्न प्रतिबन्ध लगाइएको छ।

गाडीभित्र तरकारीको बोरामा औषधिजन्य लागूऔषध फेला पर्नुले नेपालमा यसको कारोबार र प्रयोग तीव्ररूपमा वृद्धि भइरहेको आशङ्का प्रहरीले गरेको छ। उक्त लागूऔषध कारोबारी तथा ओसारपसारमा संलग्न १० जनालाई नियन्त्रणमा लिई ब्युरोले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

पक्राउ पर्नेमा ताप्लेजुङ, मेरिङ्देन गाउँपालिका–५ की तुलसा खड्का, सुनसरी बराह–७ का युवराज खड्का, रौतहट डुमरियाना–२ का किशोर चौलागाई, सिन्धुपाल्चोक पाँचपोखरी थङ्पाल–१ का मानबहादुर तामाङ रहेका छन्।  त्यसैगरी पक्राउ पर्नेमा सर्लाही, हरिवन–४ का बुद्धबहादुर बोम्जन, ईश्‍वरपुर–६ का विपिन कुसहवा, गाडी चालक मोहम्मद आस्फाक आलम, रतन मोक्तान तथा दीपक श्रेष्ठ रहेका छन्। 


हेरोइनसहित १२ पक्राउ 

त्यसैगरी ब्युरोले लागूऔषध खैरो हेरोइनको अवैध कारोबार तथा ओसापसारमा संलग्न तीन महिलासहित १२ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ताप्लेजुङ, फुङ्लिङका राजकुमार तामाङ, मौवाखोलाकी सुशीला तामाङ, झापा, भद्रपुरकी सञ्चमाया तामाङ, मेचीनगरका मनिराज लिम्बू, शिवसतासीका प्रेम हाङ, योगेश लिङ्देङ, विदुर आङ्बोलाई नियन्त्रणमा लिएको छ।

यसैगरी हेरोइनसहित बझाङ, जयपृथ्वी नगरपालिकाका उपेन्द्र जाग्री, रामेछापकी जुनमाई मोक्तान, काठमाडौँ महानगरपालिका–३ का अनुज शाही, इलामका दिपेश विश्‍वकर्मा र पाँचथर फिदिमका काजीमान गुरुङलाई नियन्त्रणमा लिई  विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ। बरामद औषधिजन्य लागूऔषध र हेरोइनको अवैध बजार मूल्य ५८ लाख १० हजार रुपियाँ रहेको ब्युरोले जनाएको छ।