• १३ असोज २०८१, आइतबार

लाखे नाच संरक्षणमा जुटे बेनीका युवाहरु (फोटो फिचर)

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन १८ गते । करिव तीन सय वर्ष पुरानो बेनीको लाखे नाच संरक्षणमा युवाहरु जुटेका छन् । युवाहरुको सक्रियतामा बेनी बजारमा मंगलबार नागपञ्चमीका दिन लाखे नाच देखाइएको छ । लाखे नाचलाई नेवार समुदायको पुरानो संस्कृतिको रुपमा लिने गरिन्छ । भक्तपुर र साँखु लगायत विभिन्न स्थानबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति पनि भित्रिएको अगुवाहरु बताउँछन् । 


नेवार संस्कृतिमध्ये बर्खे नाच अन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने प्रचलन छ । तीन सय वर्ष पुरानो खम्पर (मुखौटो) लगाएर ठूलो मृदंगा, मादल, झ्याली र ढलकीको तालमा  लाखे नचाउँदै  बजार परिक्रमा गर्ने प्रचलन छ । लाखे नाच हेर्न बजारमा ठूलो भीड लाग्ने गर्दछ । 


परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विसर्जन गरिएपछि बेनीमा बर्खे नाच सुरु हुने नेपाल भाषा मंकाखलका सदस्य सुविन श्रेष्ले बताउनुभयो । 


नेवा समुदायको कलासंस्कृतिलाई पुस्तान्तरणका लागि युवापंक्तिलाई तालिमको व्यवस्था गरिएको उहाँले बताउनुभयो । आधुनिकता सँगै पुरानो कला संस्कृति लोप हुन थालेकाले युवापुस्तामा पुस्तान्तरणका लागि तालिम दिन थालिएको उहाँले बताउनुभयो । 


पुरानो कला संस्कृतिको संरक्षणमा बेनीका युवाहरुले चासो देखाउन थालेको नेवार समुदायका अगुवा अंगद श्रेष्ठले बताउनुभयो । नेवार समुदायको मौलिकता झल्किने कतिपय पुराना संस्कृतिहरु लोप हुनथाले उहाँले भन्नुभयो ‘पाका पुस्ताबाट नयाँ पुस्तामा कलासंस्कृति हस्तान्तरण नहुँदा पहिचान नै लोप हुने अवस्थामा पुग्नथालेका छन् ।’ पछिल्लो समय बजारका केही युवाहरुले कलासंस्कृतिको संरक्षणमा चासो देखाउन थालेकाले आशा जागेको उहाँको भनाई छ । 


करीब तीन सय वर्ष  देखि लाखेनाचमा एउटै खप्पर(मुखौटो) प्रयोग हुँदै आएको छ । लाखे नाचमा अन्य गतिविधिभन्दा पनि मुखौटो विशेष आकर्षणको केन्द्र हुने गर्छ । पहिलो पुस्ताले ल्याएको मुखौटोलाई अहिलेका नयाँ पुस्ताका युवाहरुले  समेत प्रयोग गर्दै आएको नेवार समुदायका अगुवा श्रेष्ठले बताउनुभयो । 


कलाकारको अभावका कारण रोपाईँ नाच, गोरु नच, जोगी नाच, हनुमान नाच देखाउन समस्या भएको नेपाल भाषा मंकाखलका सदस्य श्रेष्ठले बताउनुभयो । लाखे नाच, घोडाघोडी नाच र श्रीकृष्ण रथयात्रा र तीजका दिन कृष्ण र लाखेको लडाई मात्र देखाउन थालिएको उहाँले बताउनुभयो । पछिल्लो समय कलाकारको अभाव र कोरोना भाइरसको प्रकोपका कारण नाचहरु देखाउन समस्या भएको नेवार समुदायका अगुवाहरु बताउँछन् ।