माध्यमिक शिक्षा परीक्षा (एसईई) भनेको कक्षा १० को परीक्षा हो तर यसलाई अचेल किन यति धेरै हाउगुजी बनाइएको छ, अचम्म लागेको छ । कक्षा १२ को स्कुल भएपछि, कक्षा १० लाई ‘टर्मिनेटिङ’ परीक्षा भन्नुपर्ने हो । हाम्रा निम्ति कक्षा १२ भनेको विश्वविद्यालयमा भर्ना हुने जग मात्र हो । जुन जग रसियामा कक्षा १० लाई मानिन्छ, चीनमा कक्षा ११ र अमेरिकामा कक्षा १२ लाई मानिन्छ । भारतमा पनि त्यही होे ।
विद्यालय तहलाई कक्षा १२ सम्म लैजानु भनेको स्कुले शिक्षा एक खुड्किलो माथि गएको भन्ने व्यवस्था हो । स्कुल माथि जानु भनेको विद्यार्थीले जे मन पर्छ त्यही पढ्न पाउनुपर्छ भन्ने हो । तसर्थ अहिले कक्षा ११ र १२ मा मानविकी, व्यवस्थापन, विज्ञान वा अन्य विषयको पढाइ हुन्छ भन्दै विद्यार्थी तथा अभिभावकलाई झुक्याउनु सम्बन्धित संस्थाको बेइमानी हो । धोका हो, एकपथीय भन्ने तर विज्ञान, व्यवस्थापन वा मानविकीमा जान यति नम्बर ल्याउनैपर्छ भन्नु बेइमानी हो । सी वा इ नै ग्रेड पाए पनि उनीहरूलाई विज्ञान पढ्न दिनुपर्छ, पछि गएर उसले राम्रो प्रगति गर्न पनि सक्छ तर यी विषयमा सोच्न शिक्षा मन्त्रालयले अझै सकेन ।
कक्षा ११ र १२ मा अहिले पढाइ हुने भनेको समूह हो, ‘स्ट्रिम’ होइन । समूह भनेपछि विद्यार्थीले चाहेमा विज्ञान समूहबाट एक दुई वटा विषय, मानविकी, विज्ञान वा व्यवस्थापन समूहबाट एक दुई वटा विषय पढ्न पाउनुपर्छ । अर्थात् विद्यार्थीले जुन जुन विषय पढ्न चाहन्छन्, सोहीअनुसार पढ्ने मौका दिनुपर्छ । यस्ता विषय एकै स्कुलमा पढ्नुपर्छ भन्ने पनि होइन । विद्यार्थी जुन विद्यालयमा रजिष्टर्ड हुन्छन्, त्यहाँबाट परीक्षा दिन्छन् तर उनले खोजेको विषयको पढाइ जहाँ उपलब्ध हुन्छ, त्यही पाउनुपर्छ । उनले कहाँ पढ्छन् भन्ने विषय गौण हो । जसरी भए पनि कक्षा १२ पूरा गर्न पाउनुपर्छ । यसमा विद्यार्थीले क्रेडिट आवर ‘अर्न’ गर्ने हो । पाठ्यक्रम विकास केन्द्रले पछिल्लो समय अवलम्बन गरेको चिन्तन पनि एकल पथीय नै हो । यसको अर्थ विद्यार्थीलाई क्रेडिट आवर पूरा गराउने हो । विद्यार्थी पाठ्यक्रम विकास केन्द्रले तोकेको क्रेडिट आवर ‘अर्न’ गर्न जहाँ गए पनि हुन्छ, जहाँबाट पढे पनि हुन्छ । उनका लागि व्यवस्थापन, मानविकी वा विज्ञान विषय पढे भन्ने विषयले अर्थ राख्दैन । यो गौण हो । यो भनेको स्कुल माथि गएको व्यवस्था हो । क्याम्पस तल आएको भए विशिष्टीकरण खोज्न पाउँथे । विद्यार्थीले मानविकी, व्यवस्थापन वा विज्ञान पढ्छु भन्न पाउँथे तर यो हामीकहाँ भएको व्यवस्था होइन । यो फेजआउट व्यवस्था हो । ‘डाउनवार्ड एक्स्टेन्सन’ होइन । फेज आउट भनेको मलाई चाहिँदैन भनेको हो । डाउनवार्ड भनेको मैले धान्न सकिन, तिमीहरू गर भनेको हो । कक्षा ११ र १२ लाई माथि लैजानु भनेको मैले धानिन, तिमीहरूले सम्हाल भनेको हो ।
अब कक्षा ११ र १२ विश्वविद्यालय होइन । तसर्थ यो फेजआउट नै हो । फेज आउट भएपछि विश्वविद्यालयले यो विद्यार्थी भर्ना गर्छु यो विद्यार्थी भर्ना गराउँदिन भन्न पाउँदैन । तर स्कुलले जस्तै विश्वविद्यालयले पनि स्नातक तहको भर्नामा यसै भनिरहेका छन्, जुन गलत हो । विद्यार्थीमा उक्त सङ्कायमा भर्ना गर्ने योग्यता पुग्दैन भने ‘प्रि रिक्वीइजीट कोर्स’ डिजाइन गर्नुपर्छ तर कुनै पनि विश्वविद्यालयका पदाधिकारीमा यो सद्बुद्धि आएन । कुनै विश्वविद्यालयमा यो चिन्तन छैन तर यो द्विविधा विद्यार्थी अभिभावकमा प¥यो । शिक्षा मन्त्रालयले यस विषयमा स्पष्ट पारिदिनुपर्दथ्यो । चासो दिएन । सरोकारवालाले पनि अगुवाइ गर्नुपर्दथ्यो, गरेनन् । स्कुलका प्रधानाध्यापक, शिक्षक महासङ्घ, प्याब्सन, हिसानलगायतले पनि संयुक्त रूपमा अभियान चलाउनुपर्दथ्यो, चलाएनन् ।
के पढ्ने ?
नीति नियमले एउटा कुरा गर्छ, व्यवहारमा भएको छ अर्कै । जसले गर्दा विद्यार्थी अन्योलमा छन् । अभिभावक समस्यामा छन् । तसर्थ बजारमा जे चलेको छ, त्यही बिक्छ भन्ने भावनाले अघि बढ्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा के पढ्नेभन्दा पनि आफ्नो आर्थिक हैसियतले जे धान्छ, सोही विषय पढ्नु बुद्धिमानी हुन्छ । नानी बाबुलाई मेरो सल्लाह छ, आर्थिक हैसियतले धान्न सकिन्छ भने विज्ञान पढ, नसके व्यवस्थापन पढ, त्यो पनि नसके शिक्षा वा मानविकी पढ । तर यो विषय राम्रो, त्यो विषय नराम्रो भन्ने पक्षमा म छैन । यतिखेर कक्षा ११ र १२ पढाउने स्कुलको प्रतियोगिता क्षमतामा होइन, पैसामा छ । उनीहरूको तागत पनि केही छैन, सब देखाउने मात्र हो । सी वा डी वा अन्य कुनै ग्रेड ल्याएकोले मात्र यो विषय पढ्न पाउनुपर्छ भन्ने पनि होइन । यो बहाना मात्रै हो ।
विद्यार्थीले जहाँ, जुन विषय पढे पनि हुन्छ । हरेक विषयको उत्तिकै महìव छ । बाबुआमाले धान्न सक्ने खर्चको अवस्था हेरेर विषय रोज्ने हो । बाबु आमासँग आर्थिक समस्या छ, छात्रवृत्ति पनि पाइने अवस्था रहेन भने जुन विषय सजिलो लाग्छ, त्यही पढ्नुपर्छ । विज्ञान पढेर चिकित्सक वा इन्जिनियर नै बन्नुपर्छ भन्ने छैन, शिक्षा पढेर शिक्षक नै बनिन्छ भन्ने कुनै निश्चित छैन । म एक प्रतिष्ठित एअरलाइन्स कम्पनीको सानो उदाहरण दिन चाहन्छु । त्यहाँ कार्यरत पाइलटको शिक्षाबारे मैले चासो राखेको थिए । बुझ्दै जाँदा स्नातक तहमा उनीहरूमध्ये केहीले विज्ञान, केहीले व्यवस्थापन त केहीले मानविकी पढेका रहेछन् । यी सबै पढाइ सकेर अन्तिममा उनीहरू १० महिने तालिम लिएर पाइलट भएका रहेछन् । पाइलट बन्न १० महिने तालिम पर्याप्त रहेछ । उनीहरूले स्नातकमा सिकेको ज्ञानले त्यहाँ काम गरेन । भनेपछि विज्ञान, व्यवस्थापन वा मानविकी जे पढे पनि सबैले काम गर्न त सक्दा रहेछन् नी ।
अर्को उदाहरण पनि छ पूर्वराष्ट्रपति डा. रामवरण यादवको । उहाँ अहिले पूर्वराष्ट्रपतिको रूपमा चर्चित हुनुहुन्छ । राजनीतिका कारणले गर्दा हो । उहाँले क्याम्पसमा विज्ञान पढ्नुभयो । चिकित्सक बन्नुभयो तर चर्चित राजनीतिका कारण हुनुभयो । राजनीति गर्नका लागि त यति नै योग्यता हुनुपर्छ भन्ने कतै उल्लेख पनि छैन । महावीर पुनले पनि स्नातकसम्म विज्ञान पढे पनि स्नातकोत्तर तहमा शिक्षा पढ्नुभयो तर वैज्ञानिक नै बन्नुभयो । स्नातकोत्तर तहमा शिक्षा पढे पनि उहाँलाई वैज्ञानिक बन्न कसैले छेकेन । यस्ता कैयौँ उदाहरण छन् समाजमा । समाजमा प्रतिष्ठा कमाउन वा जीविका चलाउन यही नै विषय पढ्नुपर्छ भनेर लेखिएको कतै पनि छैन ।
जीपीएमा भर नपरौँ
एसईईमा मूल्याङ्कन गरेर दिइने जीपीए हाम्रो तरिका होइन, अहिले हामीले जुन ढङ्गले विद्यार्थीलाई अङ्क दिइरहेका छौँ त्यो निर्णायक होइन । अहिलेको त विद्यार्थीको प्राप्ताङ्कलाई अङ्कमा गणना गर्ने र अङ्कलाई अक्षरमा बदल्ने अनि जीपीए तोक्ने तरिका छ । यो वैज्ञानिक होइन । यो त प्राप्ताङ्कलाई जीपीएमा कन्भर्टिङ गरिएको मात्रै हो । देखाउनका लागि मात्रै हो । साँच्चिकै जीपीए यो हुँदै होइन । उच्च जीपीए ल्याउनेलाई राम्रो मान्ने कि नमान्ने भन्ने स्पष्ट प्रमाण त यसअघिको दुई वर्षको प्रक्रियाले देखाएको छ । कस्ता विद्यार्थीले कति जीपीए ल्याएका थिए भन्ने त्यतिखेर स्पष्ट भएको थियो । शिक्षकमा पेसागत धर्म रहेनछ भन्ने उदाहरण हो त्यो । अहिले पनि अवस्था उस्तै छ । कहीँकतै पेसागत धर्म भएका केही शिक्षक छन् भने उनीहरूले कुटाइ खानुपर्ने अवस्था छ । यस्तो बेलमा मैले उच्च जीपीए ल्याए भनेर फूर्ति लाउनुको के अर्थ ? यस्तो बेलामा अभिभावकले केटाकेटीको रहर जेमा छ त्यही पढ्न दिनुपर्छ । तिमीले उच्च जीपीए ल्याएका छौ, विज्ञान नै पढ्नुपर्छ वा तल्लो ग्रेड ल्याएका कारण मानविकी नै पढ्नुपर्छ भन्ने दबाब नदिऔँ ।
पूर्वराष्ट्रपति यादव वा एअरलाइन्सका पाइलट वा महावीरको उदाहरणबाट मेरो डिग्री केही पनि होइन रहेछ भन्ने सन्देश अभिभावकले लिन सक्नुपर्छ । म त भन्छु, मेरा छोराछोरीलाई यति पढाए, यो विषय पढाए भन्ने अभिभावक अबुझ हो । यो बजारले बुझाएको बुझाइ हो । सरकारले होइन । मानविकी पढेर अमेरिका गयो भने पूर्वसर्त केही खोजिँदैन । विज्ञान पढ्ने रहर छ भने यो यो विषय पढ भनिन्छ । भारतमा पनि यस्तै हो । हामीकहाँ कस्तो बुद्धि आयो, थाहा छैन । त्यसो हो भने विद्यार्थीले जे पढे पनि हुन्छ भन्ने मेरो ठम्याइ हो ।
क्यारिअर सोख हो । पढाइ खुल्ने विषय मात्रै हो । तसर्थ यही पढ्नुपर्छ भन्ने होइन । विज्ञान पढेर सामाजिक सेवामा लागेका मानिस पनि छन् । सामाजिक विषय पढेर विज्ञानमा लागेका पनि छन् । अभिभावकले पनि ए प्लस आउँदैमा विज्ञान पढ भन्नु हुँदैन । आजको केटाकेटी हिजोको जस्तो छैनन् । तसर्थ अभिभावकलाई विनम्र अनुरोध गर्छु, केटाकेटीले जे चाहन्छन् त्यही पढ्न दिनुस् । विद्यार्थीलाई पनि अनुरोध गर्छु, प्लान ए ले काम गरेन भने प्लान बी लागू गरौँ ।
बरु सकेसम्म घर पायक हुने, जुन ठाउँमा जस्तो शैक्षिक संस्था छ, त्यही पढौँ । आफ्नो आर्थिक हैसियतअनुसार शैक्षिक संस्था रोजौँ । जुन विषय उपलब्ध छ त्यही पढौँ । अनुशासित वातावरण भएको, पुस्तकालय सुविधा रहेको, विद्यार्थीलाई स्वतन्त्रता भएको, कम्तीमा गरेर खाने सीप पाउने संस्था रोजौँ । जहाँ गराइ र पढाइ जोड्ने सुविधा छ, त्यही पढौँ । पढाइ नियमित, विद्यार्थीका लागि कुनै पनि हालतमा पढाइ नरोकिने संस्था खोजौँ । खुला मोड, सेल्फ स्टडी वा ट्युटोरियलबाट पढ्न पाउने संस्था रोजौँ ।
(शिक्षाविद् डा. कोइरालाले सूर्यप्रसाद पाण्डेसँग गर्नुभएको कुराकानीमा आधारित ।)