• ७ जेठ २०८१, सोमबार

घाँसीकुवा मासिने जोखिम

blog

तनहुँ समाचारदाता 

तनहुँ, साउन १६ गते । भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसीकुवा संरक्षणको पर्खाइमा छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले कुवा रहेको स्थान र पार्कमा सडक पुग्ने भएकाले मासिने जोखिम बढेको छ । 

सडक विस्तार गर्दा हाल घाँसीकुवामा रहेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनुपर्ने अवस्था आएको हुँदा संरक्षणका लागि बेलैमा चासो राख्नुपर्ने माग स्थानीयको छ । भानुभक्त मामा घर मानहुँ पुगेर पैदल बाटो फर्किने क्रममा कुवामा घाँसीसँग भेट भएको थियो । घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि सोही प्रेरणाबाट भानुले यस्तो कविता रचना गर्नुभएको भन्ने गरिन्छ ।

आदिकवि भानुभक्तले उक्त घटनालाई कवितामार्फत यसरी स्मरण गर्नुभएको थियो । 

भर्जन्म घाँसतिर मन दिई धन कमायो,

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो,

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,

म भानुभक्त धनी भैकन किन आज यस्तो

घाँसीलाई घाँस काटेरै कुवा बनाउने प्रेरणाबाट भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषाको विस्तार गर्नुभएको हो । कुवापारिपट्टि पोल्याङ गाउँमा बस्ने पन्थ थरका ब्राह्मणको बस्ती कुवाको नजिक भएकाले पन्थ नै घाँसी भएको अनुमान गरिएको भानु घाँसी स्मारक पार्क संरक्षण समितिका सदस्य प्रेमप्रकाश भट्टराई बताउनुहुन्छ ।  पृथ्वीराजमार्ग फराकिलो बनाउने क्रममा कुवापट्टि विस्तार गर्ने ठाउँको सट्टा कुवाको विपरीत रहेको स्थानलाई मात्रै फराकिलो बनाउने तथा बुल्दी खोलाको किनारको भागलाई उठाएर सम्म बनाएर संरक्षण गर्न सकिने सुझाव स्थानीयको छ ।

गाडीको चाप बढेको पृथ्वी राजमार्ग विस्तार गर्नुपरेको तर कुवाको अस्तित्व संरक्षण गरी फराकिलो बनाउनुपर्ने सुझाव व्यास नगरपालिका–११, पोल्याङ, घाँसीकुवा निवासी भोजराज पन्थको छ । “जिजुबाजेदेखि जोगाउँदै आएको स्थान हो यो, पन्थले भन्नुभयो, भत्काएर इतिहास मेट्न हुँदैन ।” सबैले संरक्षणमा ध्यान दिनुपर्ने हुन्छ । परम्परा संस्कृति हो जोगाउनु प¥यो नेताहरूले बुझेर कुवा बचाउनतिर लाग्नुपर्छ । 

हाल घाँसीकुवा रहेको भन्दा दुई सय मिटर टाढा करिब एक सय रोपनी सार्वजनिक जग्गामा स्थानीय बासिन्दाले भानु–घाँसी पार्क बनाउन दिने निर्णयसमेत गरिसकेको बताइन्छ । घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । 

चिनियाँ कम्पनीले पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता खार्ने र खाल्टोहरू पुर्ने कार्य सुरु गरेको छ । दुई लेनको यो राजमार्ग चार लेन र तीन चरणमा पूरा हुने भएको छ । सो कम्पनीले सडक फराकिलो गर्न छ अर्ब १४ करोड रुपियाँको ठेक्का पाएको हो ।