• ६ जेठ २०८१, आइतबार

स्याङ्जामा आठ सय ९४ नयाँ उद्योग थपिए

blog

वालिङ,  साउन  १५  गते । स्याङ्जामा गत आर्थिक वर्ष २०७८÷७९ मा आठसय ९४ वटा नयाँ उद्योग थपिएका छन् । जिल्लामा पछिल्लो समय ८९४ वटा कृषि तथा पशुपक्षी र  ससानो पुँजीका घरेलु तथा साना उद्योग थपिएका हुन् ।तुलनात्मकरुपमा जिल्लामा कृषि तथा पशुपक्षीसँग सम्बन्धित फार्म तथा उद्योग बढी थपिएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख श्रीप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा ८९४ घरेलु तथा साना उद्योग थपिँदा वाणिज्य (पसल, व्यवसाय)तर्फ ६८४ वटा नयाँ दर्ता भएका थिए ।

उद्योग तथा व्यवसाय महिलाका नाममा दर्ता गर्दा शुल्कमा ५० प्रतिशत छुट हुने भएकाले पनि महिलाका नाममा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढ्दो रहेको छ ।आव २०७७÷७८ को तुलनामा आव २०७८÷७९ मा उद्योग तथा व्यवसाय दर्तामा कमी आएको छ ।आव २०७७÷७८ मा एक हजार ४७५ उद्योग दर्ता भएका थिए भने ९६६ पसल तथा व्यवसाय दर्ता भएका थिए ।

आव २०७७÷७८ को तुलनामा गत आवमा ५८१ वटा उद्योग दर्तामा कमी भएको छ भने वाणिज्यतर्फ २८२ दर्ता भएका थिए ।पछिल्लो समय स्थानीय पालिकामा व्यवसाय दर्ता गर्ने गरिएकाले पनि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्ने क्रम घटेको कार्यालयले जनाएको छ । कार्यालयले गत आव  मा ७९ वटा उद्योग र एक सय १० वटा वाणिज्य (पसल, व्यवसाय) को दर्ता खारेजी गरेको थियो । जिल्लामा २०७९ असार मसान्तसम्ममा आठ हजार ९१२ उद्योग दर्ता भएकामा पाँच हजार ८८३ वाणिज्य (पसल, व्यवसाय) दर्ता भई सञ्चालनमा छन् ।

कार्यालयले गत आव २०७८÷७९ मा उद्योग व्यवसाय दर्ता, नवीकरण, विलम्ब शुल्क, नामसारी, ठाउँसारी, पुँजीवृद्धि, लगत कट्टा तथा खारेजीजस्ता कार्यबाट रु. ७० लाख चार हजार ३४५ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो ।