• १९ असार २०८१, बुधबार

सक्रिय सङ्क्रमित बढ्दै

blog

तम्घास समाचारदाता

तम्घास, साउन १५ गते । शून्य भएको कोरोना सङ्क्रमण गुल्मीमा फैलिन थालेको छ । शनिबार मात्रै गुल्मी जिल्लामा ११ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो । शनिबार २३ जनामा गरिएको एन्टिजेन परीक्षणमा पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ५६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि स्वास्थ्य मापदण्डहरू पूर्ण रूपमा पालना गर्न स्वास्थ्य कार्यालय गुल्मीले अनुरोध गरेको छ । जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरूलाई ज्वरो र रुघाखोकी लागेका बिरामीहरूको एन्टिजेन परीक्षण गर्नका लागि निर्देशन दिएको आचार्यले बताउनुभयो । पालिकाहरूमा पर्याप्त मात्रामा एन्टिजेनको व्यवस्था गरेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा पनि पर्याप्त मात्रामा एन्टिजेन रहेकाले ढुक्क भएर परीक्षण गर्नका लागि आफूहरूले आग्रह गरेको र केही समस्या भए नजिकको स्वास्थ्य संस्थाहरूमा सम्पर्क गर्न आचार्यले आग्रह गर्नुभयो ।

जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण २८८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख गरिएको छ । यता जिल्लामै रहेको कोराना परीक्षण प्रयोगशाला भने विगत एक वर्षदेखि रकम अभावका कारण बन्द छ । पहिले जिल्लाका १२ वटै स्थानीय तहले रकमको जोहो गरेर सञ्चालन गरेको प्रयोगशाला बन्द रहेको हो । अहिलेकै अवस्थामा परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिनुभयो ।