जसरी मनकामना एउटा तीर्थस्थलका रूपमा प्रसिद्ध छ, उसैगरी मनकामनामा नित्य पूजा सुरु गर्ने गोरखाली राजा राम शाहकालीन सिद्ध लखन थापामगर पनि प्रसिद्ध छन् । खास नाम लक्ष्मण भए पनि लखन थापाबाट परिचित उनी एक चामत्कारिक सिद्ध थिए । उनले त्यस बेला राम शाह र उनकी रानीको विश्वास जितेका थिए ।
मनकामना राम शाहकी रानीको स्मृतिमा स्थापना गरिएको देवीस्थान हो भनिन्छ जहाँ रानीको मृत्युपछि लखन थापाले पूजाआजा प्रारम्भ गरे । रानीको नाम कतै ईश्वरी महारानी त कतै लीलावती उल्लेख छ ।
गोरखाली राजा छत्र शाहको मृत्युपछि उनको उत्तराधिकारीका रूपमा राम शाह गोरखाको राजगद्दीमा बसे । राम शाहले वि.सं. १६७१ देखि १६९३ सम्म गरी २२ वर्ष गोरखामा शासन गरेका थिए (दिनेशराज पन्त, ‘कैलाश’ वर्ष १ अङ्क १– सन् १९७३:७९) ।
राम शाह अध्यात्ममा विश्वास गर्ने राजा थिए । पर्वतमा दुलही माग्न जाँदा राम शाहलाई त्यहाँका राजा राज मल्लले आफ्नी छोरी नभई भान्जी दिएर पठाएका थिए । दुलही लिएर गोरखा फर्केको केही समयपछि उनले काशीबाट आएका ब्राह्मण नन्दा मिश्रसँग दीक्षा मन्त्र सुनेका थिए । नन्दा मिश्रका दरसन्तानलाई राजगुरु बनाउनु भनी उनले थिति बाँधेका थिए । राजपाट छोराहरूलाई सुम्पेर धर्मकर्ममा लागेका पर्वतका पूर्वराजा नारायण मल्लको चिठी आएकाले दीक्षा सुनेको केही समयपछि उनी गलकोट पुगेको र पर्वतको ताकम नामक ठाउँमा नारायण मल्लसँगै छ महिना तपस्या गरेका थिए । त्यहाँ यज्ञ पनि गराएका थिए (दिनेशराज पन्त, ‘गोरखाको इतिहास’ पहिलो भाग–२०४१ः८४–८५) ।
उनै नन्दा मिश्रसँगको भेटपछि सम्भवतः यिनैको साथ यिनी बनारस यात्रा गरेर गङ्गास्नान र विश्वनाथको दर्शन गरी त्यसतर्फको सामाजिक र राजनीतिक अवस्था बुझेर आएका थिए (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’–२०६१ः८) ।
गोरखाली राजा राम शाहले लखन थापालाई एकान्तमा लगेर बडो स्नेहपूर्वक ‘तिमी त ठूला सिद्ध रहेछौ । कस्तो प्रकारले तिमीलाई सिद्धि प्राप्त भएको हो’ भनी सोधे । उनले सिद्धि प्राप्त भएको सम्पूर्ण वृत्तान्त राजालाई सुनाए ।
लखन थापाको चमत्कार
राजा राम शाहका समयका सिद्ध लखन थापाका बारेमा ‘गोरखा वंशावली’मा रोचक पाराले बयान गरिएको छ । पुरातŒव विभागको मुखपत्र ‘प्राचीन नेपाल’को सङ्ख्या २८ (श्रावण २०३१ः७–१६) मा प्रकाशित भएको यस वंशावलीमा सिद्ध लखन थापाका बारेमा गरिएको चर्चा यस्तो छ :
पर्वत राज्यमा पुगी त्यहाँका राजा नारामल (नारायण) मल्लसँगै गोरखाका राजा राम शाह जति बेला तपस्या गरिरहेका थिए, त्यही बेला यता गोरखामा पनि लखन थापाले सिद्धि प्राप्त गरे ।
एक दिन लखन पात टिप्न वनमा गएका थिए । पात टिप्ने क्रममा अलि माथि राम्रा पात रहेछन् टिप्न प-यो भन्दै अलि माथि चढ्दै धेरै माथि पुगेछन् । धेरैमाथि पुगेपछि एक ठूला जटाधारी व्यक्तिको उनले दर्शन पाए । खरुवाका रुमाल कण्ठमा बाँधेका तेजस्वी बाबाजीलाई उनले देखे । उनको शरीर पनि अग्निको ज्वालाझैँ तेजिलो थियो । त्यसपछि लखनले ती जटाधारी सामान्य मानिस होइनन्, देवतै हुन् भनी पाउमा परी दण्डवत् गरे । बाबाजीले पनि उनको पिठ्यूँमा धाप मार्दै भने, “धेरै परिश्रम गरेकोले तँ थाकेको छस्, के खाने इच्छा छ भन्, म खान दिन्छु ।”
“खीर पाएदेखि खाने थिएँ,” लखनले बिन्ती गरे ।
बाबाले ठूलो स्वर गरी “अरे मण्डुक” भनी बोलाउँदा निक्कै ठूलो भ्यागुता कचौरामा अलि–अलि दूध चुहाउँदै आइपुग्यो । बाबाले लखनलाई त्यहाँ चामल छ भनी देखाउँदै दूध दुहेर खीर पकाउन आदेश दिए । लखनले पनि दूध दुहेर खीर पकाए ।
त्यसपछि बाबाले लखनलाई पद्मासनमा बस्न लगाए । प्राण वायुलाई उठाउन सिकाउँदै कुण्डली शक्तिलाई आधारचक्रदेखि खैँचेर भेदन गराई सहस्रदलमा पु¥याउन लगाई फेरि त्यहाँबाट उतारचढाव गराई ८१ अवर्ति गराएपछि लखनले दिव्य दृष्टि प्राप्त गरे । त्यसपछि लखनले ती बाबा गुरु गोरखनाथ रहेछन् भनी थाहा पाए । गोरखनाथले लखनलाई भने, “तलाईं मैले किन खुवाएको भने मैले सिकाएको दिव्य ज्ञानमा दृढ रहनू । अब तँ सिद्ध भइस् । राम शाहलाई पनि सहयोग गरेस् ।”त्यसपछि लखन गुरु गोरखनाथको पाउ परी दण्डवत् गरी आफ्नो घर फर्के ।
उता पर्वतका राजा नारायण मल्लसँगै तपस्या गरेका गोरखाका राजा राम शाह पनि ज्ञानलाभ गरेर आफ्नो राज्यमा फर्के । उनले गोरखामा न्याय निसाफ गरेर प्रसिद्धि कमाए । गुरु गोरखनाथले लखनलाई ‘राजा राम शाहलाई सहयोग गर्नू’ भन्ने आदेश दिएका थिए । त्यही आदेश पालना गर्न लखन एक दिन राम शाहको कचहरीमा गएका थिए । कचहरीमा बसिरहेका लखन एकाएक हाँस्न पुगे । राम शाहले लखनलाई सोधे, “किन हाँसिस् ?”तर लखनले राजाको प्रश्नको समेत जवाफ नदिई आलटाल गरे । त्यसपछि राम शाह कड्किए, “हाँस्नुको कारण के हो बिन्ती नगरी हुँदैन ।”
त्यसपछि लखनले भने, “त्यतिखेरै पाल्पाका राजाका कचहरीमा नाच हुन लागेको थियो । नाच्ने मारुनीको सारी खुस्क्यो र कचहरीमा रहने सबै हाँसे । म पनि हाँसेको हुँ ।” तर राम शाहलाई विश्वास भएन । गोरखामा बसेर पाल्पाको कचहरी देखेर कसरी हाँस्न सकेको, यो कुराको छानबिन हुनुपर्छ भनी बुझ्नका लागि त्यसै दिन त्यसै समयमा पाल्पामा के भइरहेको थियो भनी लेखिपठाए । पाल्पाबाट कस्तो जवाफ आयो भने उस दिन उसबखत लखन पनि पाल्पाको कचहरीमा थिए । लखनले जे भनेको हो, त्यो साँचो हो ।
लखनले ती जटाधारी सामान्य मानिस होइनन्, देवतै हुन् भनी पाउमा परी दण्डवत् गरे । बाबाजीले पनि उनको पिठ्यूँमा धाप मार्दै भने, “धेरै परिश्रम गरेकोले तँ थाकेको छस्, के खाने इच्छा छ भन्, म खान दिन्छु ।”
यस्तै अर्को दिन पनि लखन कचहरीमा थिए । उनले के अचम्म गरे भने उनी अचानक जुरुक्क उठे । त्यसपछि आफूले ओढेको खास्टो निकालेर निचोर्न लागे । चिसो भएको खास्टो निचोर्दा पानी आयो । कचहरीमा बसेका राजा राम शाह, भारदारलगायत सबै ठूलो आश्चार्यमा परे ।
राजाले लखनलाई सोधे, “यहीँ बसेका थियौ, के कारणले तिम्रो लुगा भिज्यो र निचो-यौ ?”
लखनले फेरि अचम्मको जवाफ दिए, “अहिले भर्खरै कालीगण्डकीमा डुङ्गा डुब्यो । म पनि डुङ्गामा थिएँ । अरू मानिस पनि थिए । उनीहरू पनि डुबे । उनीहरूलाई पाखामा निकाल्दा मेरा लुगा पनि भिजेका हुन् ।”
यस विषयमा पनि निश्चय गर्नुपर्छ भनी राजा राम शाहबाट आदेश भयो । कालीगण्डकीमा के भएको थियो भनी जाँचबुझ गर्दा ‘त्यही दिन त्यही समय कालीगण्डकीमा डुङ्गा डुब्दा केही मानिस पनि डुबेका र लखन थापाले नै डुबेका मानिसलाई पाखामा उतारेका’ भनी घाटका मानिसले राजासमक्ष अर्जी पठाए ।
यी दुई चमत्काररूपी घटनापछि गोरखाली राजा राम शाहले लखन थापालाई एकान्तमा लगेर बडो स्नेहपूर्वक ‘तिमी त ठूला सिद्ध रहेछौ । कस्तो प्रकारले तिमीलाई सिद्धि प्राप्त भएको हो’ भनी सोधे । उनले सिद्धि प्राप्त भएको सम्पूर्ण वृत्तान्त राजालाई सुनाए । उनले गुरु गोरखनाथले आफूलाई ‘राजा राम शाहलाई सहयोग गर्नू’ भन्ने आदेश दिएको पनि सुनाए । त्यस बेला राम शाहले ‘आफूलाई नेपाल (कान्तिपुर) जित्ने मनसुवा रहेको’ बताउँदा यसबारे भविष्यवाणी गर्दै लखनले ‘हजुरका सन्तानले नेपाल भोग गर्न पाउनेछन्’ भनी भविष्यवाणी गरिदिए ।यसैगरी एक दिन अचानक एक पुरुष पटाङ्गिनीमा प्रकट भए । तरबार निकालेर ती पुरुषमाथि प्रहार गर्न खोज्दा उनले सिंहको रूप धारण गरे । ती सिंहमाथि चढेर दरबारकै महारानी सवार भइन् । उनी ईश्वरी महारानी थिइन् । पछि लखनले क्षमा मागे । गुरु गोरखनाथले लखनलाई पूजाको विधिविधान सिकाइदिए । वरदानस्वरूप ईश्वरी महारानीले ‘मनकामना देवी मै हुँ आजदेखि तैँले र तेरा दरसन्तानले सदासर्वदा मेरो पूजा गर्नू’ भन्ने आज्ञा दिइन् ।
राजा राम शाहको मृत्यु भएपछि उनकी रानी राजासँगै सती गइन् । उनी सती जाने बेलामा लखन थापा साहै्र दुःखी भएका थिए । सती जाने बेलामा रानीले आफू फेरि शीलाका रूपमा कफ्याक गाउँमै उत्पन्न हुने आश्वासन दिएकी थिइन् । त्यसको छ महिनापछि कफ्याक गाउँकै एक किसानले जमिन जोत्दा ढुङ्गा (शीला)मा हलो अड्किएर त्यहाँबाट रगत र दूध बग्न थाल्यो । उक्त स्थानमा लखन पुगेर तान्त्रिक विधिअनुसार शीलामा पूजा गरेपछि रगत र दूध बग्न छाड्यो । अहिले त्यही स्थानमा नै मनकामनाको मन्दिर रहेको छ (डा. मीन श्रीस, ‘नेपाली राष्ट्रियताको विकासमा मगर पुजारीहरूको भूमिका’–२०७७ः९७) ।
यताबाट हेर्दा मनकामना राम शाहकी रानीको स्मृति वा समर्पणमा स्थापना गरिएको देवीस्थान हो, जो एक प्रसिद्ध तीर्थस्थलका रूपमा स्थापित छ ।
मनकामनाका पुजारी
राजा राम शाहका उत्तराधिकारी डम्बर शाह हुन् । राम शाहको मृत्यु भएको छ महिनापछि यहाँ लखन थापाले पूजाआजा प्रारम्भ गरेको मान्यता रहेको हुँदा मनकामना एक देवीस्थान वा तीर्थस्थलका रूपमा डम्बर शाहको राज्यकालमा स्थापना भएको स्पष्ट हुन आउँछ ।
मनकामनामा परम्परागत मगर पुजारी लखन थापाकै सन्तान रहेका छन् । लखन थापा ल्हायो थरका मगर थिए । यहाँका पुजारी खलकबारे इतिहास शिरोमणि बाबुराम आचार्यले वि.सं. १९८५ सम्मको पुस्तालाई समेटर ११ पुस्तासम्मको नाम प्रकाशमा ल्याउनुभएको छ । उहाँले लखन थापापछि जाधौ, धवनीत, भीकु, रामकण्ठ, दुर्गे, भीमसेन, बलभद्र, जगजीत, कुलमान र केदारमानको नाम उल्लेख गर्नुभभएको छ । (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क २७– असोज २०२९ः१६२) ।
लखन थापा आफूचाहिँ अविवाहित थिए । त्यसैले उनका भाइका सन्तानले अहिले मनकामनाका परम्परागत पुजारीका रूपमा पूजा गर्दै आएका हुन् । प्रौढावस्थातिर आफ्ना भाइका सन्तानलाई पूजाआजाको जिम्मेवारी छाडेर उनी तीर्थाटनका लागि काशी गएका थिए । उनी लामो समयसम्म नफर्केपछि उनी मरेको ठानेर उनका दाजुभाइ तथा आफन्तले उनको काजक्रियासमेत गरेका थिए तर पछि उनी घर फर्कंदै गर्दा माइती आउँदै गरेकी एक चेलीसँग उनको लिउरे भञ्ज्याङमा भेट भयो । तिनै चेलीबाट परिवारले उनको काजक्रियासमेत गरिसकिएको खबर सुनेपछि उनी विरक्त हुँदै आफूले गोरखनाथबाट आशीर्वाद लिई सिद्धि प्राप्त गरेको वक्रेश्वरी गुफामा गए र वैशाख पूर्णिमाको दिन उनी अल्पिए । उक्त गुफालाई अहिले पनि लखन गुफा वा सिद्ध गुफा भन्ने गरिएको छ । उनको स्मृतिमा हरेक वर्ष ल्हायो मगरहरूले बोका बली दिएर पूजा गर्ने गर्छन् (श्रीस, उहीः १०१) ।
लखन थापाको १७औँ पुस्ताका इन्सानबहादुर थापा (जन्म : वि.संं २०१८)ले अहिले मनकामनाको पूजा चलाउँदै आउनुभएको छ । उहाँले २०४२ सालदेखि पूजा चलाउँदै आउनुभएको हो । पृथ्वीनारायण शाहको उदयपछि मनकामनाको पूजाआजा परम्परामा व्यापक परिवर्तन गरी परम्परागत मगर पुजारीका अतिरिक्त ब्राह्मण पुजारी र बौद्ध गुभाजुको पनि व्यवस्था गरियो । यसका लागि एउटा गुठीको व्यवस्था पनि गरियो । यहाँ नगर्ची, कटुवाल र कारवालीको पनि प्रबन्ध गरियो (श्रीस, उहीः१०३) ।
वि.सं. १८२० मा पृथ्वीनारायण शाहले मनकामनामा एक गुठीको व्यवस्था गरिदिए । उनले मनकामना मन्दिरमा मात्रै नभई यहाँका संस्थापक पुजारी सिद्ध लखन थापासँग सम्बन्धित वक्रेश्वरमा पनि पूजाका लागि आवश्यक व्यवस्था गरिदिएका थिए ।