• २९ वैशाख २०८३, मङ्गलबार

स्याङ्जाको जङ्गलमा बेवारिसे अवस्थामा भेटियो बन्दुक

blog

जङ्गलमा भेटिएको भरुवा बन्दुक । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), वैशाख २९ गते ।
स्याङ्जाको विरुवा गाउँपालिकास्थित जङ्गलमा बेवारिसे अवस्थामा सोमबार भरुवा बन्दुक भेटिएको छ ।

विरुवा गाउँपालिका–८ स्थित मेथाभुरुङको जङ्गलमा अवैध हतियार लुकाई छिपाई राखिएको भन्ने सूचना पाएपछि प्रहरी चौकी विरुवाअर्चलेबाट खटिएको प्रहरी टोलीले बन्दुक भेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी अमृत त्रिपाठीका अनुसार उक्त बन्दुक कसले र कुन प्रयोजनका लागि जङ्गलमा राखेको हो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । बन्दुकको नाल र बट फुटेको अवस्थामा छुट्टाछुट्टै फेला पारिएको त्रिपाठीले जानकारी दिनुभयो ।