घोराही समाचारदाता
घोराही, वैशाख २६ गते । दाङको घोराही उपमहानगरपालिका अन्तर्गतको नारायणपुर क्षेत्रमा भूमिगत पानीको स्रोतबाट पानी आउन छाडेको छ । यसले गर्दा यहाँका उपभोक्ता समस्यामा परेका छन् ।
भूमिगत पानीको स्रोतमा पानीको मात्रा कम भएको नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जनाएको छ । जनसङ्ख्या बढ्दै गएको नारायणपुर क्षेत्रमा पानीको स्रोत ५० प्रतिशतले घट्दा पानी वितरणमा समस्या देखिन थालेको दाबी सो संस्थाका पदाधिकारीले गरेका छन् । संस्थाका अध्यक्ष कुलप्रसाद रजौरेले पानीको स्रोत घट्दा संस्थाले यसअघि दैनिक करिब २३ लाख लिटर पानी वितरण गर्दै आएकोमा अहिले करिब आधामा झरेर १२ लाख लिटरमा सीमित भएको बताउनुभयो । उहाँका अनुसार पानीको स्रोतमा कमी आएसँगै संस्थामा आबद्ध चार हजार २९ घर उपभोक्ता प्रत्यक्ष प्रभावित भएका छन् ।
घोराही उपमहानगरपालिका–१० निवासी उपभोक्ता सीता केसीले गर्मी समयसँगै पानी बढी चाहिने भए पनि कम आउँदा भान्सादेखि सरसफाइको काममा समस्या भएको बताउनुभयो । गृहिणी केसीले भन्नुभयो, “गर्मीमा बढी पानी चाहिन्छ तर यतिबेला पानी आउँदैन । कहिले त आउँदा आउँदै सुक्ने गरेको छ ।”
अध्यक्ष रजौरेले पछिल्लो समय पानीको स्रोत घट्दै गएको र त्यसको असर अहिले संस्थाले भोग्नु परेको बताउनुभयो । पानीका मुहान सुक्दै जानु नै अहिले देखिएको समस्याको मुख्य कारण भएको बताउँदै अध्यक्ष रजौरेले भन्नुभयो, “अहिले नारायणपुर क्षेत्रमा पानी वितरणका लागि मुख्य स्रोतका रूपमा रहेका बिपी वाटिकामा दुई वटा र झारबैरामा रहेको भूमिगत पानीका स्रोतमा पानीको मात्रा आधाले घटेको छ । यसले गर्दा पर्याप्त मात्रामा पानी वितरण गर्न सकेका छैनौँ ।” उहाँले चार/पाँच वर्षसम्म नारायणपुर क्षेत्रमा पानीको समस्या नहुने गरी डिप बोरिङसँगै ओभरहेड ट्याङ्की निर्माण गरेर पानी वितरण थालिए पनि समस्या देखिएको बताउनुभयो ।