• २६ वैशाख २०८३, शनिबार

जैमिनीका आठ वडा बालमैत्री घोषणा

blog

रामकृष्ण बोहरा
बागलुङ, वैशाख २६ गते ।
जैमिनी नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर बनाउने अभियानले तीव्रता पाएको छ । आगामी जेठ १५ गतेभित्र नगरपालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्यसहित वडा तहको काम अन्तिम चरणमा पुगेको छ ।

पहिलो चरणमा वडा नं. १ कुश्मीसेरा, २ तल्लो दमेक, ३ उपल्लो दमेक, ४ सर्कुवा, ६ अर्जेवा, ८ छिस्ती, ९ पैयुँथन्थाप र १० राङखानीलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मिरादेवी शर्माले जानकारी दिनुभयो ।

बालमैत्री नगर घोषणा गर्न सरकारले तयार पारेको ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८’ अनुसार ५१ वटा सूचक पूरा गर्नुपर्ने व्यवस्था छ । तीमध्ये शिक्षा र स्वास्थ्यतर्फका अधिकांश सूचक पूरा भइसकेका छन् भने केही भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेको शर्माले बताउनुभयो ।

नगर उपप्रमुख हरिहर शर्माले विद्यालयका संरचना पनि क्रमशः बालमैत्री बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “संघीय र प्रदेश सरकारको अनुदानमा निर्माण भइरहेका केही संरचना बजेट अभावका कारण ढिला भएका छन् । विद्यालयमा बाल क्लब गठन तथा परिचालन, बालमैत्री सूचकबारे बालबालिका, शिक्षक र अभिभावकलाई तालिम तथा अभिमुखीकरण गर्ने काम सम्पन्न भइसकेको छ ।”

यसका अतिरिक्त समुदायस्तरमा सरसफाइ प्रवद्र्धन, बालबालिकाप्रति सकारात्मक दृष्टिकोण विकास, शुद्ध खानेपानी व्यवस्थापन तथा सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्ने कामसमेत सम्पन्न भएको उहाँले बताउनुभयो ।

“बालमैत्री वडा घोषणासँगै यसको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखिनेछ,” शिक्षा शाखा प्रमुख शर्माले भन्नुभयो ।

वडा नं. १ कुश्मीसेरामा बालमैत्री उद्यान निर्माण भइरहेको छ । उद्यान निर्माण सम्पन्न भएपछि तथा सबै वडा घोषणा प्रक्रिया पूरा भएपछि जिल्ला समन्वय समिति र प्रदेश सरकारको अनुगमन प्रतिवेदनका आधारमा नगरपालिकालाई बालमैत्री घोषणा गरिने शर्माले जानकारी दिनुभयो ।

बालमैत्री अभियानअन्तर्गत ३० विद्यालयको सहभागितामा ‘पढाइ मेला’ समेत आयोजना गरिएको थियो । मेलामा शैक्षिक सामग्री प्रदर्शनी गरिएको थियो । अभियानकै क्रममा जैमिनीका सीमान्तीकृत मुस्लिम समुदायका बालबालिकालाई पठनपाठनमा सहजता ल्याउन पोशाक, झोला तथा शैक्षिक सामग्री वितरण गरिएको थियो ।

निर्देशिकाले निर्धारण गरेका ५१ सूचकमध्ये गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्य जाँच, टीटीविरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी सेवा, छ महिनासम्म अनिवार्य स्तनपान तथा पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको हुनुपर्ने व्यवस्था छ ।

यस्तै, एक वर्षमुनिका बालबालिकालाई पूर्ण खोप, सबै घरपरिवारमा आयोडिनयुक्त नुनको प्रयोग, कमतौल, पुड्कोपन र ख्याउटेपन भएका बालबालिकाको संख्या घटेको अवस्था, सबै घरधुरीमा खानेपानी र शौचालयको पहुँच, जन्मदर्ता तथा बालविवाहमुक्त क्षेत्र हुनुपर्ने सूचकसमेत समावेश छन् ।