सन्तोष दहित
दाङ, वैशाख २६ गते । घोराही उपमहानगरपालिका–१७ स्थित गुलरिया ड्यामको जलाशयमा २० हजार माछाका भुरा छोडिएको छ । जलाशयको संरक्षण, माछापालन प्रवद्र्धन तथा स्थानीय आम्दानी वृद्धि गर्ने उद्देश्यले भुरा छोड्ने कार्यक्रम आयोजना गरिएको हो ।
प्रतिक पशुपन्छी फर्मको ५० प्रतिशत तथा नगर विकासको ५० प्रतिशत अनुदान सहयोगमा जलाशयमा माछाका भुरा छोडिएको स्थानीय अशोक चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार जलाशयलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै माछापालन व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको छ ।
उहाँको अनुसार पछिल्लो समय गुलरिया जलाशयमा माछापालन राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । यसै वर्ष मात्रै उक्त जलाशयबाट करिब चार लाख रुपैयाँ बराबरको माछा बिक्री भएको बताइएको छ । जलाशयमा उत्पादित माछाको स्थानीय बजारमा राम्रो माग रहेको जनाइएको छ । जलाशय संरक्षणलाई ध्यानमा राख्दै अनाधिकृत रूपमा माछा मार्न तथा पौडी खेल्न निषेध गरिएको उहाँले जानकारी दिनुभयो ।