मालीमा पर्ने टिम्बक्टु इस्वी संवत्को १५औँ र १६औँ शताब्दीमा इस्लाम सभ्यताको एक प्रमुख बौद्धिक थलो थियो। हालको पश्चिम अफ्रिकी देश मालीको मध्यमा पर्ने टिम्बक्टु सहर इस्लामको स्वर्ण युगमा शताब्दीयौँसम्म संस्कृति र विद्या प्राप्तिका लागि प्रमुख केन्द्रका रूपमा विकसित भयो।
एक बौद्धिक गन्तव्यका रूपमा यस क्षेत्रको विरासत सनदियताका वीरगाथाबाट सुरु भएको थियो। १३औँ शताब्दीको महाकाव्यअनुसार कङ्गाबा राज्यका राजकुमार मनडिन्काले कठोर सोसो राजा सुमारो काँतेविरुद्ध सफल प्रतिरोध गर्दा एउटा नयाँ साम्राज्य बन्यो। त्यसपछि माथिल्लो नाइजर नदी क्षेत्रमा माली साम्राज्य शक्ति र गौरवका साथ विकसित हुन थाल्यो। मालीका शक्तिशाली राजा मन्सा मुसा प्रथमले मक्का तीर्थाटनबाट फर्केर सन् १३२४ मा शान्तिपूर्वक टिम्बक्टु सहरमाथि नियन्त्रण बनाए उनको साम्राज्य विशेष शिक्षा, संस्कृति र वास्तुकलाको केन्द्र बन्न पुग्यो।
सहारा मरुभूमि र नाइजर डेल्टाको मिलन हुने स्थानमा इस्वी संवत् ११०० मा टिम्बक्टु एक अस्थायी व्यापार केन्द्रका रूपमा विकसित भयो। त्यस क्षेत्रमा ठूलो स्तरमा खेतीपाती हुन थाल्यो। शक्तिशाली पश्चिम अफ्रिकी अधिराज्यहरू र दक्षिण सहारा क्षेत्रका पशुपालक टुआरेग्सले टिम्बक्टुमा व्यापार गर्दथे। आठौँ शताब्दीको सुरुका वर्षमा जब टुआरेग्स समाजहरूमा इस्लामले प्रवेश पायो उनीहरूले टिम्बक्टुमा जसरी आफूले व्यापार गर्ने अन्य क्षेत्रमा इस्लाम विस्तार गर्दा अरब–इस्लामिक र पश्चिम अफ्रिकी मानिसबीच सम्बन्ध स्थापित हुन पुग्यो।
मन्सा मुसा प्रथम र उनका उत्तराधिकारीको कार्यकालमा टिम्बक्टु एक सानो तर सफल व्यापारिक केन्द्रबाट रूपान्तरित भएर वाणिज्य र विद्याको केन्द्र बन्यो, जसले गर्दा माली साम्राज्य इस्लामको स्वर्ण युगमा एक सर्वाधिक प्रतापी स्थलका रूपमा संसारमा कहलिन पुग्यो। पश्चिम अफ्रिकाका शक्तिशाली राजाहरू तथा इस्लाम अग्रजहरू व्यापार गर्न, शिक्षादीक्षा ग्रहण गर्न र बलियो राजनीतिक सहयोगलाई प्रस्फुटित गर्न टाढा टाढाबाट टिम्बक्टुको यात्रामा आउँदथे।
इस्वी संवत् १६औँ शताब्दीसम्म टिम्बक्टुमा १५० देखि १८० सम्म कुरानिक स्कुल वा मक्तबा स्थापना भइसकेका थिए। मालीका शासकले आध्यात्मिक अभ्यासका लागि मात्र होइन गणित, कानुन, व्याकरण, इतिहास, भूगोल, खगोल र ज्योतिष विज्ञान अध्ययनका लागिसमेत विशाल मस्जिदहरू बनाउन लगाए।
इस्वी संवत् ११०० मा टुआरेग्सले टिम्बक्टुमा पहिलो मस्जिद साङकोरे बनाउन लगाए तर मन्सा मुसा प्रथमले त्यसमा महìवपूर्ण सुधार गरी इस्लाम विद्वान्हरू अर्थात उलेमालाई आमन्त्रित गरी त्यसको प्रतिष्ठा बढाउने काम गरेका थिए। मन्सा मुसा प्रथमले त्यसपछि जिङ्गोरेबार मस्जिद निर्माण गराए। यो मस्जिद निर्माणको प्रबन्ध गर्न मन्सा मुसा प्रथमले इस्लाम विद्वान् अबु इसाक अल साहेलीलाई दुई किलो सुन दिएका थिए। १५औँ शताब्दीमा जब टुआरेग्स शासक अकिल अकामाल्वाको हातमा माली साम्राज्यको बागडोर आयो उनले सिदी याहाया मस्जिद बनाउन लगाए।
टिम्बक्टुमा मस्जिद र स्कुलको स्थापना जोडतोडले भयो, जसरी इस्लाम प्रसार भइरहेका अन्य सहर कायरो र मक्कामा भएको थियो तर टिम्बक्टु र अन्य सहरमा इस्लाम शिक्षादीक्षाको तरिका अलि फरक थियो। कायरो र मक्काका मस्जिदको पुस्तकालय सबैका लागि खुला गरिएका थिए तर टिम्बक्टुका पुस्तकालय कुनै विद्वान्को वा परिवारको निजी सङ्ग्रहका रूपमा थिए।
आश्चर्य मान्नु पर्दैन टिम्बक्टुमा पुस्तकहरू बहुमूल्य सम्पत्ति थिए, जो पुस्ता दर पुस्ता हस्तान्तरण हुँदै आए। ग्रिओट्स अर्थात् इतिहासका कुरालाई कविता, गीत, कथा र सङ्गीतका माध्यमबाट गाउँघरमा जीवित राख्ने अफ्रिकी यायावर समुदायको मौखिक रूपमा इतिहासका घटना हस्तान्तरण गर्दै जाने पश्चिम अफ्रिकी परम्परा यस अभ्यासमा प्रतिविम्बित हुन्छ। साम्राज्यहरू र शाही परिवारमा ग्रिओट्स इतिहासको जानकारी राख्नेहरू थिए।
ग्रिओट्स त्यही मनडिन्का जातीय समूहबाट बनेका थिए जहाँका सनदियता थिए। टिम्बक्टुमा इस्लाम विद्वान्हरू तथा पुस्तक लेखन भए जसरी नै ग्रिओट्सको भूमिका पुस्तामा हस्तान्तरण हुँदै आयो र सुविस्तृत प्रशिक्षाका रूपमा ग्रहण गरियो। ग्रिओट्स अभ्यास आजसम्म पनि भइरहेको छ तथा कोरा वादक टुमानी डियाबाटे जस्ता मालीका सङ्गीतकारले यो अभ्यास गरिरहेका छन्।
इस्वी संवत्को १५औँ शताब्दीमा माली साम्राज्य कमजोर पर्न गयो र त्यसको स्थानमा सोङ्घाई साम्राज्य स्थापना भयो। मालीको सहर गाओका एक सैनिक कमान्डर अस्किया महम्मदले सोङ्घाई साम्राज्यका शासकका रूपमा सन् १४९२ देखि १५२८ सम्म शासन चलाए। उनले टिम्बक्टुमा इस्लाम शिक्षण परम्परा प्रगाढ पार्ने काम गरे, जो उनका पूर्ववर्तीले स्थापित गरेका थिए। तर चाँडै नै टिम्बक्टुमा मोरक्कोको सादियन राजवंशबाट खतरा उत्पन्न भयो। १६औँ शताब्दीको अन्त्यतिर सादियन राजवंशले सोङ्घाई साम्राज्यमा आक्रमण गर्दा टिम्बक्टुको शिक्षण केन्द्रको अधिकांश भागमा क्षति पुग्यो तथा महìवपूर्ण पान्डुलिपिसहित मानिसको सम्पत्ति नष्ट भयो।
तैपनि सादियनबाट टिम्बक्टु र गाओ आफ्नो उच्च तहको स्वायत्तता बनाइराख्न सक्षम थिए तथा सन् १६३२ मा ती सहरले सादियन राजवंशबाट आफूलाई स्वतन्त्र रहेको घोषणा गरे।
सोङ्घाई साम्राज्यमा सादियन राजवंशको कब्जा अवधिमा समेत टिम्बक्टु र गाओ सहरका पान्डुलिपि कुरानिक स्कुलहरू र मस्जिदहरूमा शिक्षणका लागि उपयोग भइरहे तर १७औँ शताब्दीमा जब फ्रान्सेलीहरू पश्चिम अफ्रिका आइपुगे टिम्बक्टुको अधिकांश सांस्कृतिक सम्पदा लुटियो र युरोप लगियो। जसका कारण पान्डुलिपिका आधारमा त्यहाँ व्यापक स्तरमा भइरहेको शिक्षण अभ्यासमा पूर्णविराम लाग्यो।
टिम्बक्टुको विरासतमाथि यी मात्र एकल आक्रमण थिएनन्। सन् २०१२ मा अलकायदासँग सम्बद्ध अतिवादी समूहले उत्तरी मालीमा नियन्त्रण बनाएपछि टिम्बक्टुमा बाँकी रहेका पान्डुलिपिसमेत नष्ट गर्ने काम गरे। तैपनि टिम्बक्टुका विभिन्न ४५ स्थानबाट खोजकर्ताले तीन लाख ५० हजार जति पान्डुलिपि खोजेर सुरक्षित राखेका छन्। तिनलाई मालीको राजधानी बमाकोमा राखिएको छ।
–युवामञ्च