• १५ चैत २०८०, बिहिबार

“हिमालयन रविन हुड”

blog

महाकवि लक्ष्मीप्रसाद देवकोटाले उल्लेख गरेझैँ डा. केआई सिंहको व्यक्तित्व बाधा अड्चन, विधिवैपरीत्यको अभाव र राजनीतिक विचलन नआएको भए मुलुकको मुहार परिवर्तनका लागि उपयोगी रहने थियो। तर विद्रोही स्वभावका डा. सिंहले नेपालको राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहे पनि पदमा रहेर लामो समय काम गर्न पाएनन्। हुन पनि डा. सिंहको नाम नलिँदा नेपालको राजनीतिक इतिहास अपुरो रहन्छ। 

१९६३ साल वैशाखमा डोटीको डुम्राकोटमा जन्मेका केआई सिंह पिता नरध्वज शाही र आमा हीरादेवीका छोरा थिए। उनको बाल्यकालको नाम ‘इन्द्रध्वज शाही’ थियो। डा. केआई सिंह डोटेली रैका राजाका दरसन्तान थिए। नेपाल एकीकरणपछि डोटेली राजा दीप शाहीले धनगढीपारि सिँगाहीमा सिँगाही–खैरीगढ राज्य खडा गरेका थिए। दीप शाहीका दरसन्तानले सिँगाही राज्य थामे। सिँगाहीमा डा. केआई सिंहका नातेदार ‘रायबहादुर कुँवर बमबहादुर शाह’ बस्ने भएकाले उनले सानैमा त्यहीँ गएर पढ्न पाएका थिए। 

त्यतिबेला खैरीगढ राज्यमा राजाका छोरा राजकुमार र भाइछोरा कुँवरका नामले पुकारिन्थे। सोही कारण डा. केआई सिंहको सानो छँदाको नाम इन्द्रध्वज शाहीका अगाडि ‘कुँवर’ जोडिएको थियो। त्यसपछि उनी इन्द्रजित शाही’ का नामले चिनिन थाले। पछि सिंहले लखिमपुरको रोयल कलेजियट हाइस्कुल, बलरामपुर र लखनउबाट शिक्षा हासिल गरे। 


उनले वि.सं. १९८१ देखि ब्रिटिस–इन्डियन आर्मीको रोयल फिल्ड आर्टिलरीमा ‘पे हवल्दार’को जागिर खाएका थिए। भारतमा ‘शाही’ थर प्रचलित नभएका कारण त्यतिबेलै उनले आफ्नो थर  ‘सिंह’ लेख्न थाले। यसरी पछि उनी कुँवर इन्द्रजित ‘सिंह’ नामले चिनिन थाले। चार वर्ष सेनाको जागिर खाएपछि उनले राजीनामा दिए। त्यसपछि कोलकाताको ‘फिलाडेल्फिया होमियोप्याथिक कलेज अफ इन्डिया’मा भर्ना भई ‘होमियोप्याथिक चिकित्सा’को अध्ययन गरे। ‘होमियोप्याथिक चिकित्सा’ अध्ययनपछि उनले नामको अगाडि डा. लेख्न सुरु गरेका थिए। त्यसपछि उनी डा. केआई सिंहका नामले परिचित भए। जुन नाम उनको जीवनपर्यन्त कायम रह्यो। 

वि.सं. १९८१ मा डा. सिंहले बर्मा गएर मेडिकल प्राक्टिस गरेका थिए। बर्मामा उनी पकोका, मान्डले, सदर्नसान, मचिनालगायतका ठाउँमा बसे। वि.सं. २००० मा बर्मामाथि जापानले आक्रमण गरेपछि उनी भारतको नागाहिलको पहाडी बाटो हिँड्दै असम पुगे। चार दशक भारत र बर्मा (म्यान्मार)मा रहेका डा. सिंह वि.सं. २००१ सालतिर भैरहवापारि नौतनवामा आएर बसेका थिए। २००५ सालमा भोलानाथ शर्माको हातबाट ‘नेपाली राष्ट्रिय कांग्रेस’को सदस्यता लिएर उनी क्रान्तिमा होमिए। 

२००७ सालको क्रान्तिमा मातृकाप्रसाद कोइराला नेपाली कांग्रेसका सभापति सर्वाेच्च कमान्डर थिए भने बीपी कोइराला पूर्वी क्षेत्रका कमान्डर। क्रान्तिमा नेपाली कांग्रेसले भैरहवा मोर्चाको जिम्मेवारी डा. केआई सिंहलाई दिएको थियो। डा. सिंह नेतृत्वको मुक्तिसेनाले त्यतिबेला तीन पटक भैरहवामाथि आक्रमण ग-यो। त्यतिबेला डा. सिंहको मुकाम म्युडिहवा थियो। क्रान्तिकै बेला राजा त्रिभुवन सपरिवार भारतको दिल्ली पुगेपछि राजा, राणा र नेपाली कांग्रेसबीच भारतको मध्यस्थतामा त्रिपक्षीय सम्झौता भयो। सम्झौताअनुसार राणा, राजा र कांग्रेसका मन्त्री रहने गरी नयाँ सरकार गठन गर्ने तथा प्रधानमन्त्री मोहनशमशेरलाई नै निरन्तरता दिने सहमति भयो तर डा. सिंहले राणाहरूलाई सत्ताबाट पूर्णतः बहिर्गमन नभएसम्म क्रान्ति पूरा नहुने र जनतामाथि धोका हुने भन्दै क्रान्ति जारी राखे। 

उनले पार्टी सभापति मातृकाप्रसाद कोइरालाले हतियार बिसाउन दिएको आदेशको अवज्ञा गरे। भैरहवा मोर्चामै नेपाली कांग्रेसका अर्का कमान्डर पाल्पाका बडाहाकिम रुद्रशमशेरका छोरा गोपालशमशेर थिए। क्रान्तिकै बेला गोपालशमशेरले डा. केआई सिंह नेतृत्वको मुक्ति सेनालाई हतियार नदिँदा दुवै कमान्डरबीच द्वन्द्वको अवस्था थियो। प्रजातन्त्रको घोषणापछि पश्चिम कमान्डको जिम्मेवारी गोपालशमशेरले नै पाएका थिए। त्यसपछि डा. सिंह गोपाल शमशेरबीचको दूरी झनै बढेको थियो। 

त्यसैले डा. सिंहले नेपाली कांग्रेसबाट विद्रोह गरी प्रजातन्त्रको घोषणा भएको भोलिपल्टै अर्थात् फागनु ८ गते भैरहवामा आक्रमण गरे। आक्रमणमा नेपाली सेनाका चार र डा. सिंह नेतृत्वको मुक्ति सेनाका नौ जनाले ज्यान गुमाए। फागुन ९ गते डा. सिंहसहित तीन सय ५७ जना उनका समर्थकलाई भारतीय सैनिकले पक्रेर नेपाली सेनालाई बुझायो। त्यसरी पक्राउ परेका डा. सिंह र उनका समर्थकलाई भैरहवा जेलमा राखियो। 

२००८ असार २५ गते उनी भैरहवा जेल तोडेर भाग्न सफल भए। त्यसरी भागेका डा. सिंहलाई पक्रिन २००८ साल साउनमा भारतीय सैनिक दोस्रो पटक नेपाल आए र डा. सिंह पाल्पाको ठाकुरबारीबाट पक्राउ परे। त्यसपछि उनलाई अड्डासार गर्दै काठमाडौँ जेल चलान गरियो। 

काठमाडौँमा सिंहलाई सिंहदरबारमा बन्दी बनाइएको थियो। २००८ साल माघ ८ गते राति बन्दी अवस्थामै डा. केआई सिंहले सहयोगी रामप्रसाद राई र अग्निप्रसाद खरेललगायतको सहयोगमा रक्षा दलका जवान परिचालन गरी सिंहदरबार, बारुदखाना, तोपखाना, बन्दुकखाना, मुलुकीखाना, दूरसञ्चार र रेडियो स्टेसन आदि कब्जा गरे। सरकारी सैनिकले डा. सिंहको विद्रोहविरुद्ध कारबाही थालेपछि उनले सहकर्मीसँगै माघ ९ गते भागेर केरुङको बाटो तिब्बत (चीन) प्रवेश गरेका थिए। 

ल्हासा–चेङ्ग्दु हुँदै बेइजिङ पुगेका सिंह र उनीसँगै रहेका उनका तीन दर्जनभन्दा बढी अनुयायीले चीनमा राजनीतिक शरण पाए। राजा महेन्द्रबाट आममाफी पाएपछि डा. सिंह २०१२ भदौमा स्वदेश फर्केका थिए। 

राजा महेन्द्रबाट आममाफी पाएर स्वदेश फर्केपछि डा. सिंहले ‘संयुक्त प्रजातन्त्र पार्टी, नेपाल’ गठन गरेका थिए। प्रधानमन्त्री टङ्कप्रसाद आचार्य नेतृत्वको सरकार आमनिर्वाचन सम्पन्न गराउन असफल रहेको भन्दै राजा महेन्द्रले विघटन गरेका थिए। त्यसपछि २०१४ साउन ११ गते राजा महेन्द्रले डा. सिंहको प्रधानमन्त्रीत्वमा नयाँ सरकार गठन गरे। ११ सदस्यीय डा. सिंहको सरकारमा महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री थिए। डा. सिंहको सरकारलाई दैनिक कार्यसञ्चालनका अतिरिक्त आमनिर्वाचन गराउने जिम्मेवारी दिइएको थियो। 

तर कर्मचारीतन्त्रको असहयोगका कारण उनले लामो समय काम गर्न पाएनन्। राजनीतिक दलको असहयोगका कारण आमनिर्वाचन गर्ने वातावरणसमेत निर्माण गर्न सकेनन्। 

अन्ततः तीन महिना १० दिनपछि उनको सरकार विघटन हुन पुग्यो। छोटो कार्यकालमा डा. सिंहले देशभर नेपाली भाषामा पठनपाठन अनिवार्य गरेका थिए। उनले कर्मचारीतन्त्रमा विद्यमान भ्रष्टाचार निवारणका लागि ‘हिसाब जाँच कमिसन’ गरी सोही कमिसनको प्रतिवेदनका आधारमा आर्थिक अनियमिततामा मुछिएकामाथि कारबाही प्रक्रिया अघि बढाए। त्रिभुवन विश्वविद्यालयका लागि कीर्तिपुरमा जग्गा अधिग्रहण गर्ने काम डा. केआई सिंह नेतृत्वकै सरकारले गरेको थियो। 

२०१५ सालको आमनिर्वाचनमा डा. सिंहको संयुक्त प्रजातन्त्र पार्टी, नेपालले भाग लिएको थियो। आमनिर्वाचनमा क्षेत्र नं. ७१ डोटी–दक्षिणबाट चुनाव लडेका डा. सिंह नेपाली कांग्रेसका शिवराज पन्तसँग हारेका थिए। उनको पार्टीले देशभर जम्मा पाँच सिट जितेको थियो। निर्वाचनमा धाँधली भएको भन्दै डा. सिंहले निर्वाचन बदरसहित पुनः निर्वाचनका लागि सर्वोच्च अदालतमा मुद्दा हाले। मुद्दामा बहसका लागि भारतीय वकिलहरू झिकाइए। अन्ततः डा. सिंहको मुद्दा खारेज गरिएको थियो। 

२०१५ सालको निर्वाचनको परिणामसँग असन्तुष्ट डा. सिंहले २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदमको स्वागत गरेका थिए। त्यसपछि डा. सिंहले २०१७ साल पुस २२ गते राजा महेन्द्रले दलमाथि लगाएको प्रतिबन्धलाई ‘सर्वोत्तम घोषणा’ भने। 

२०२० साल फागुन २५ गते डा. सिंहले अधिनायकवादी शासनले जनतामा पर्न गएको बहुमुखी सङ्कटलाई ध्यानमा राख्दै कदम उठाउनु परेको भनेर पञ्चायतविरुद्ध सत्याग्रह घोषणा गरे। २०२० साल फागुन २९ गतेबाट सत्याग्रह घोषणा गरेका डा. सिंहलाई पञ्चायत सरकारले फागुन २६ गते नै नजरबन्दमा राखेको थियो। सो प्रकरणमा डा. सिंहलाई काठमाडौँ विशेष अदालतले दुई वर्ष कैद र दुई हजार रुपियाँ जरिवाना ग-यो। 

डा. सिंहले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरी सफाइ पाएका थिए। २०२४ सालमा पञ्चायत प्रवेश गरेका डा. सिंहले पछि ‘राजसभा स्थायी समिति’को सभापति बने पनि मर्यादाक्रम नमिलेको भन्दै शपथ लिएर कार्यभार भने सम्हालेनन्। पञ्चायतकालमा डा. सिंह २०२७ र २०३६ सालमा राष्ट्रिय पञ्चायत सदस्य रहेका थिए। 

बर्मामा रहँदा डा. सिंहले स्थानीय बर्मेली महिलासँग विवाह गरे। बर्मेली श्रीमतीबाट डा. सिंहको एउटी छोरी थिइन्। पछि उनकी श्रीमती छोरीसहित बर्मा नै फर्किइन्। त्यसपछि डा. सिंहले धौलकुमारी सेनसँग दोस्रो विवाह गरेका थिए।  डा. सिंहका धौलकुमारीबाट छोराहरू शिवकुमार (चोलाजित), भोलाजित र यज्ञजित शाह एवं छोरी चन्द्रा शाह भए। 

घाँटीको क्यान्सरबाट पीडित डा. सिंहको २०३९ साल असोज १९ गते थाइल्यान्डको राजधानी बैङ्ककमा निधन भएको थियो। डा. केआई सिंह अन्तर्राष्ट्रिय जगत्मा ‘हिमालयन रविन हुड’का नामले समेत परिचित छन्।