विजयकुमार साह
ढल्केबर, साउन १४ गते । धनुषाको छिरेश्वरनाथ नगरपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । बुधबार प्रशासनिक भवनको उद्घाटन पश्चात सेवा प्रवाह सुरु गरिएको हो ।
नगर प्रमुख सुखदेव यादवले चार वर्षदेखि अधुरो निर्माण अवस्थामा रहेको प्रशासनिक भवन मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको बताउनुभयो । नगरपालिकाको करिब चार करोड रुपैयाँ लागतमा निर्माण भएको भवन बुधबारदेखि औपचारिक रूपमा प्रयोगमा ल्याइएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “२०७७ सालदेखि भवन निर्माण अधुरो अवस्थामा थियो । समयमै भवन निर्माण सम्पन्न गरेर प्रयोगमा नल्याउँदा जीर्ण बन्दै गएका थिए । भवनको जीर्णेद्वार तथा अधुरो काम पूरा गरेर सञ्चालनमा ल्याइएको हो । जीर्णोद्वार तथा अधुरा काम सम्पन्न गर्नका लागि थप एक करोड रुपैयाँ खर्च लागेको नगर प्रमुख यादवले बताउनुभयो ।
उहाँका अनुसार मर्मतसँगै भवन अगाडि हरित बगैँचा, प्रतिक्षालय र पानी फोहराको व्यवस्थापनको कामसमेत सुरु गरिएको छ । आफूले नगरपालिकाको कार्यभार सम्हाल्नु अघि नै भवनको आधाभन्दा बढी भाग बनिसकेको थियो ।
हालसम्म छिरेश्वरनाथ नगरपालिकाको कार्यालय सखुवा महेन्द्रनगरस्थित तत्कालीन गाविसको पुरानो भवनबाट सञ्चालन हुँदै आएको थियो । त्यहाँ पर्याप्त पनि ठाउँ अभावका कारण केही शाखा भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो । अब नयाँ भवन सञ्चालनमा आएसँगै नगरवासीले एउटै ठाउँमा सबै सेवा पाउने नगर प्रमुख यादवले बताउनुभयो ।