नवराज कट्टेल
विराटनगर, वैशाख ९ गते । विराटनगर भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि २०८२ चैत ३० सम्ममा दुई करोड ११ लाख ३२ हजार ९९५ केजी स्याउ भित्रिएको छ । भन्सार कार्यालय विराटनगरका अधिकृत विमलदेव साहका अनुसार यो गत वर्षको यसै अवधिको तुलनामा दोब्बरले बढी हो ।
जबकि गत वर्षको यही अवधिमा विराटनगर भन्सार नाकाबाट ९७ लाख ४६ हजार ६८४ केजी मात्रै भित्रिएको थियो । भन्सार विभागको यही अवधिको तथ्याङ्क अनुसार देशभरका नाकाबाट चालु आवमा चीनबाट मात्रै छ करोड तीन लाख ३४ हजार ८१७ केजी स्याउ भित्रिएको छ । देशभरका भन्सार नाकाबाट भित्रिएकोमध्ये विराटनगर भन्सारबाट मात्रै ३५ प्रतिशत स्याउ आएको देखिन्छ । त्यसमा पनि सबैभन्दा धेरै चीनबाट नै आयात हुने गरेको छ ।
विराटनगर भन्सारबाट भित्रिएको चिनियाँ स्याउ स्थानीय बजारमै खपत हुन्छ ? भन्ने प्रश्नमा व्यापारी नै यो सम्भव नभएको बताउँछन् । उसो भए देशभर स्याउ जान्छ कि भन्ने प्रश्नको पनि जवाफ चित्तबुझ्दो दिन व्यापारी आफैँ सक्दैनन् । वैधानिक बाटोबाट आयात हुने स्याउ खुला सीमाक्षेत्रबाट अवैधानिक तरिकाले भारततर्फ निकासी गर्न आवश्यकताभन्दा धेरै भित्र्याउने गरिएको हो ।
सीमानाकामा स्थानीय प्रशासनले अत्यन्तै कडाइ गरिरहेका बेला गत बिहीबार सुनसरीको भन्टाबारी नाका हुँदै दुई ट्रक स्याउ भारत पुगेको एक जना व्यापारीको दाबी छ । पूर्वमा खास गरी चीनबाट आयात गरेर भारतमा अवैध निकासी गर्दै आएका व्यापारीको स्याउ भन्टाबारी नाकाबाट बाहिरिएको हो ।
भन्टाबारी मात्रै होइन, चीनबाट वैधानिक भित्रिएको स्याउ भारतसम्म अवैध सेटिङमा चैत २७ सम्म गइरहेको थियो । त्यसपछि नयाँ सरकारको हाउभाउ जिल्लामा सुरक्षा संयन्त्र देखाउन थालेपछि मत्थर जस्तो देखियो तर पनि खुला सीमानाका प्रशस्त भएका कारण स्याउ भारत पु¥याउने फरक जुक्ति अपनाइएको दाबी छ । भन्टाबारी मात्रै नभई मोरङको नोचा, कदमाहा र डुमरियानाका हुँदै भारतको सुन्द्रीमोठको बाटोसमेत चीनको स्याउ भारत जाने गरेको छ । केही वर्षअघिसम्म विराटनगर–१८, भेडियारीबाट समेत स्याउ जाने गरेको थियो ।
नाका र सेटिङ गर्ने व्यक्ति एक्सपोज भएपछि भेडियारीको सट्टा डुमरिया नाकाबाट स्याउ जान थालेको हो । गत चैत २७ देखि मोरङका नाकामा अत्यधिक कडाइ गरिएपछि स्याउ निकासीमा असहज महसुस भइरहेको छ । यसै गरी सुनसरीको बर्जु गाउँपालिकाको साहेबगन्ज, जनकपुरबाट पूर्वका व्यापारीको स्याउ भारत पुग्दै आएको छ । झापामा अहिले स्याउको अवैध निकासीमा एकदमै कडाइ गरिएको छ । झापामा कडाइ गरिएपछि यसलाई मोरङ र सुनसरीका नाकामा केन्द्रित गरिएको हो । अहिले झापाको कचनकवलबाट स्याउ लैजान हुलाकी राजमार्गलाई प्रयोग गर्नसमेत प्रयास भइरहेको एक जना जानकार बताउँछन् ।
सीमामा सेटिङ मिलाउने र जहाँ मिल्छ त्यहाँ नजिकको कोल्ड स्टोर प्रयोग गर्ने व्यापारीको नीति बढी हाबी भइरहेको छ । अहिलेसम्म दुहबीसहित सुनसरीका सीमानजिक रहेका कोल्ड स्टोर, रङ्गेलीको कोल्ड स्टोरमा स्याउ भण्डारण गर्ने नीतिमा व्यापारी छन् । त्यसबाहेक विराटनगरका कोल्ड स्टोरमध्ये जसले फलफूल आयात गर्छ, उसकै वर्चस्व रहेको छ । विराटनगरमा स्याउ आयात गर्ने मुकेश चौधरीको दिव्यानी इन्टरप्राइजेज, विजय अग्रवाल (तोदी) को अङ्कुर ट्रेडर्स, विजय चौधरीको विजय फ्रुट, नागेन्द्र दास परिवारभित्रको लक्ष्मण ट्रेडर्स, लक्ष्मी ट्रेडर्स, विराटनगर–९ स्थित अजय र विजय साहका व्यापारिक फर्म नियति र काविया छन् ।
विराटनगरका एक व्यापारीका अनुसार फलफूलका आयातकर्ताले सीमानजिकका घरमा पु¥याएर स्याउ स्टोर गर्ने अनि रातभर टाउकोमा बोकाएर भए पनि कार्टोन सीमा कटाउने गरेको अनुभव सुनाउँछन् । त्यसरी पु¥याएको स्याउमा पनि नाफा नै हुने गरेको छ । नेपालमा चार हजार रुपियाँ पर्ने स्याउ भारतमा पाँच हजार रुपियाँमा बिक्री हुने गरेको छ । भारतमा चीनको फुजी स्याउ आयात हुँदैन । त्यसैले चीनबाट नेपालका आयातकर्ताले मगाएको स्याउ भन्सारको बाटो प्रयोग नगरी भारत पु¥याउन दुवै देशका सीमा सेटिङबाज सक्रिय हुने गरेका छन् ।
नागेन्द्र ट्रेडर्सका सञ्चालकमध्ये दिलीप दासका अनुसार चीनबाट भित्र्याइएको स्याउ बकाइदा बिल काटेर बिक्री गर्ने गरेको बताउनुहुन्छ । आफूले बेचेको स्याउ भारत पुग्छ कि नेपालमै खपत हुन्छ भन्ने कुरा आफूलाई यकिन नहुने उहाँको भनाइ छ । यसै गरी दिव्यानी इन्टरप्राइजेजका मुकेश चौधरी स्याउ आयात गर्ने र बिक्री गर्नेबाहेकको विषयमा आफूलाई जानकारी नभएको बताउनुहुन्छ ।