कमलामाई (सिन्धुली), वैशाख ६ गते । वैशाखको चर्को घामले जमिन तातेको छ । शीतल दिने छहारी छैन । छाता ओढेर ग्राहकको प्रतीक्षामा हुनुहुन्छ, ढाटीमाया दर्जी, सुकुमाया थिङ र फूलमाया वाइबा ।
छाताले शिर ढाकिए पनि जीवनका सङ्घर्ष ढाकिन सकेका छैनन् । फागुन÷चैतको आँधीहुरी होस्, वैशाख÷जेठको चर्को घाम वा असार÷साउनको झरी किन नहोस्, दैनिक हाट र फुटपाथमा सङ्घर्ष गरिरहेको भेटिनुहुन्छ ।
७१ वर्षीय ढाटीमाया दर्जीले यो यात्रा सुरु गरेको झन्डै तीन दशक बित्नै लागिसकेको छ । २७ वर्षअघि उहाँले ३५ रुपिायाँको लगानीमा फापरको सागबाट व्यापार सुरु गर्नुभएको थियो । “किसानसँग प्रतिमुठा दुई रुपियाँका दरले १८ मुठा सागलाई ३६ रुपियाँ पथ्र्यो, मलाई किसानले एक रुपियाँ छुट दिनुभयो । मैले त्यो साग तीन रुपियाँ नाफा लिएर प्रतिमुठा पाँच रुपियाँमा बेचेँ । ३५ रुपियाँको
लगानी बढेर ५५ रुपियाँको भयो,” उहाँले विगत सम्झिँदै सुनाउनुभयो ।
पहिला सिन्धुलीसँगै रामेछाप, दोलखासम्मका हाट, मेला, महोत्सवमा व्यापार गर्न पुग्ने ढाटीमायाले त्यसरी नै व्यापार विस्तार गर्दै जानुभयो । ३५ रूपयिाँबाट सुरुवात गरेको व्यापार अहिले झन्डै ३५ हजारको भएको छ । सिन्धुलीको सदरमुकाम सिन्धुुलीमाढीमा साप्ताहिक रूपमा लाग्ने शनिबारे हाटको उहाँ नियमित व्यापारी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेरो हैसियत अनुसारको व्यापार गरिरहेको छु । आजसम्म कसैसँग मागेर खानुु परेको छैन । म आफ्नै पौरखमा बाँचेको छु । जेनतेन
घरखर्च धानेकै छु ।”
ढाटीमायाका पाँच छोरी र तीन छोरा छन् । सबै छोरी र कान्छो छोरो अकालमै बिते । बाँचेका दुई छोराबुहारीको पनि साथ छैन उहाँलाई । टन्टलापुर घाममा व्यापार गर्ने ढाटीमायालाई घामको तापले भन्दा बितेका सन्तानको शोकले पिरोलिरहन्छ । उहाँको साथमा श्रीमान् त हुनुहुन्छ तर कठिन सङ्घर्षमा सधैँ एक्लै जुध्न परेको तितो अनुभव सुनाउनुभयो ।
ढाटीमायाकै सारथि हुनुहुन्छ, सुकुमाया । उमेरले ८० कटेकी सुकुमाया ३५ वर्ष भयो व्यापारमा लागेको । यस अवधिमा भिमानमा लाग्ने शुव्रmबारे हाट, सिन्धुलीमाढीमा लाग्ने बुधबारे र शनिबारे हाटदेखि दोलखा, रामेछापमा लाग्ने हाटमा समेत उहाँ पुग्नुभएको छ । अझैसम्म पनि यो यात्रा रोकिएको छैन ।
सुको मानो खुर्सानी बेचेकी फूलमायालाई बजारमा सामानको मूल्य अकासिएको देख्दा आत्तेसै लाग्छ । उहाँले शनिबारे हाटमा मात्रै ३१ वर्ष भयो व्यापार गर्नुभएको । गाउँघरमा उत्पादन भएका अर्गानिक सागसब्जी, फलफूललगायतका सामान उहाँले बेच्दै आउनुभएको छ । उमेरले ७२ वर्ष पुगेकी फूलमायालाई आफ्ना पाखुरा चलुन्जेल कसैलाई पनि दुःख दिने मन छैन । “मेरो छोरा नेपाली सेनामा जागिरे छ तर आजसम्म छोरालाई दुःख दिएको छैन । म आफ्नै कमाइले बाँचिरहेको छु । यसै गरी काम गर्दागर्दै, पैसा कमाउँदाकमाउँदै मर्न पाइयोस्” उहाँले भन्नुभयो ।
ढाटीमाया, सुकुमाया र फूलमाया एकअर्काका सारथि हुनुहुन्छ । प्रायः हाटमा व्यापार सँगैसँगै गरेको देखिन्छ । फुटपाथमा पनि सानो लगानीमा व्यापार गर्ने महिला बाक्लै भेटिन्छन् । सावित्री थापाले फुटपाथमा व्यापार सुरु गर्नुभएको चार वर्ष बित्यो । उहाँ दैनिक बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सिन्धुलीमाढी क्षेत्रकै फुटपाथमा व्यापार गर्नुहुन्छ ।
उहाँ दुई सन्तानकी आमा हुनुहुन्छ । छोरीको विवाह भइसकेको छ । छोराका दुई नाति छन् तर कमाएर पाल्ने छोरो बिरामी भएर थलिएपछि उहाँले ६० वर्षको उमेर फुटपाथमा व्यापार गर्नु परेको हो । व्यापारबाट दैनिक कमाइ चार सयदेखि एक हजारसम्म हुने गरेको उहाँले बताउनुभयो ।
त्यसो त ८० वर्षीय देवकुमारी भुजेल पनि फुटपाथमै सङ्घर्ष गरिराख्नुभएको छ । पोलेको र हरियो मकै, बेसार, खुर्सानी, अमला उहाँले बेच्नुहुन्छ । सामाजिक सुरक्षा भत्ताले औषधी खान नपुगेपछि उहाँ अझैसम्म पनि सडकमा सङ्घर्ष गर्न बाध्य हुनुहुन्छ । आफ्ना सन्तानको अपहेलना सहन नसकेर उहाँ छुट्टै कोठा भाडामा लिएर बस्दै आउनुभएको छ ।
अनिताको सङ्घर्ष
देवकुमारीको जस्तै अवस्था छ, अनितादेवी रामको । अनितादेवीलाई तीन सन्तानको पालनपोषण गर्न धौ धौ भएको छ । श्रीमान् बितेपछि फुटपाथमा उहाँको सङ्घर्ष सुरु भएको हो । महोत्तरीका गौशालाकी अनितादेवीको परिवार १२ वर्षदेखि कमलामाई नगरपालिका–५, चिसापानीमा कोठा भाडामा बस्दै आउनुभएको छ । परिवारको एक मात्रै साहरा बनेका विजयराम रोगले थलिएर बितेपछि अनितादेवी बेसहारा हुनुभयो । आफन्त, परिवारको समेत उहाँले साथ पाउनुभएन । अनितादेवी आफैँले चुत्ता÷चप्पल सिलाउन, पोलिस लगाउन सिक्नुभयो । आफूले सिप जानेपछि छोरालाई पढ्न विद्यालय पठाउनुभयो, आफू काममा खटिनुभयो । यो यात्राको सुरुवात सजिलो थिएन तर बाध्यताले उहाँलाई सिप सिकायो ।
बिहानको घरधन्दा सकेर छोराछोरीलाई विद्यालय पठाउनु अनि आफूलाई आवश्यक पर्ने औजार बोकेर फुटपाथमा चुत्ता÷चप्पल सिलाउन निस्किनु उहाँको दैनिकी हो । “दिनभरि चुत्ता÷चप्पल सिलाउँदा हातका औँला छेडिन्छन्, पाखुरा दुःखेर कहिले राम्रो निद्रा पर्दैन । काम दुःखको छ तर गर्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो ।
अनितादेवीले जुत्ता÷चप्पल सिलाएको एक सय र जुत्ता पोलिस गरेको ५० रुपयिाँ लिने गर्नुभएको छ । उहाँका श्रीमान्ले त्यही जुत्ता सिलाउने पेसाबाटै दैनिक एक हजार पाँच सयदेखि एक हजार आठ सय रुपियाँसम्म कमाउनुहुन्थ्यो । अनितादेवीको भने कमाइ कम हुन्छ । उहाँ भन्नुहुन्छ, “कहिले कमाइ नै हुँदैन । कहिले पाँच सयदेखि एक हजार रुपियाँसम्म हुन्छ ।”
महिला भएकाले अनितादेवीलाई पुरुषले जुत्ता, चप्पल सिलाउन, पोलिस गर्न दिनु हुँदैन । लक्ष्मीका रूप मानेर होला, महिलाबाट मात्रै काम आउँदा आम्दानी कम हुने उहाँको भनाइ छ । फुटपाथमा बसेर काम गर्दा उहाँले धेरै खालका व्यवहार पनि भोग्नुभयो । “कतिपयले खिसीटिउरी गर्थे । यो काम पुरुषले मात्रै गर्ने हो, तिमी भाँडा माझ्ने काम खोज्न जाउ पनि भने,” अनितादेवीले सुनाउनुभयो । यो यात्राले साढे तीन वर्ष पार गर्न लागिसकेको छ तर फुटपाथमा जुत्ता÷चप्पल सिलाएर जीविका धान्ने कठिन सङ्घर्ष कम भएको छैन ।