गोरखापत्र समाचारदाता
भक्तपुर, वैशाख १ गते । बिस्काः जात्रामा प्रमुख आकर्षणका रूपमा रहेको भैलः (भैरवनाथ) को प्रतीक मानिने लिङ्गो (योसिं) तान्त्रिक विधि अनुरूप पूजाअर्चना गरी सोमबार उठाइएको छ । बिस्काः जात्राको चौथो दिन पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा भेलुखेल योसिंखेलमा लिङ्गो ठड्याइन्छ । सयौँ युवाले डोरीको सहायताले तानेर ५५ हात लामो लिङ्गो उठाएका थिए ।
संस्कृतविद् गणेशराम लाछीले योसिंको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुई वटा ध्वजा बाँधेर अष्टमातृकाको प्रतीक आठ वटा डोरीले तानेर उक्त योसिं ठड्याइने प्रचलन रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सोही आठ वटा डोरीले आठ कुनामा बसेर योसिं ढालिने गरिन्छ । उक्त योसिं तान्त्रिक विधिपूर्वक १० कर्म विधान गरी वैशाष १ गते ढालिन्छ ।
योसिंको कोखामा झुन्ड्याइएका दुई वटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको योसिं हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नास हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद् बताउँछन् ।
योसिं उभ्याइने र ढाल्ने जात्रा नै बिस्काः को प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथजात्रा समावेश गरी तान्त्रिक पूजा विधिविधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ । लिच्छविकालदेखि सुरु भएको प्रत्येक नयाँ वर्षमा मनाइने भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा भव्य रूपमा मनाइन्छ । जात्रा हेर्न बिहानैदेखि स्थानीयसहित ललितपुर, काठमाडौँ, काभ्रे, बनेपा र सिन्धुपाल्चोकदेखि मानिस भक्तपुर पुग्ने गर्छन् । बिहानैदेखि योसिं उभ्याएको ठाउँमा बलि दिने र पूजा गर्नेको समेत घुइँचो लाग्छ ।
वैशाख ५ गते मध्याह्न इन्द्रायणी पूजा सम्पन्न गरी अपराह्नमा गुठी संस्थान, भक्तपुरबाट आएका व्यक्तिले इन्द्रायणीमा बत्ती बाली दुभाजू चोकमा मूल पुजारीलाई तरबार बुझाउने गर्छन् । त्यसपछि पुजारीले कुसुलेहरूलाई खासापा बुझाई सुनको ढोकाअगाडि इन्द्रायणीको प्रसाद लिई साँझ भेलुखेलमा गई योसिंमा अन्तिम पूजा गरी योसिं ढाल्ने परम्परा रहेको छ ।