• ३० चैत २०८२, सोमबार

अस्पतालले बदल्यो दुखीको जीवन

blog

लहान–१८ बैरबोनाका दुखी मण्डल अपाङ्गता भएका बालबालिकाका लागि विशेष जुत्ता बनाउँदै। तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, चैत ३० गते ।
लहान नगरपालिका–१८ बैरबोनाका दुखी मण्डल जन्मदेखि नै खुट्टा मोडिएको अपाङ्गता समस्याबाट ग्रसित हुनुहुन्थ्यो। सहज रूपमा हिँडेर सामान्य जीवन बिताउने कल्पना पनि उहाँले गर्नुभएको थिएन।

गरिबीका कारण ११ वर्षको उमेरसम्म उहाँको कुनै उपचार हुन सकेको थिएन। तर लहान नगरपालिका–३ अस्पताल चोकमा ११ वर्षअघि काभ्रे बनेपास्थित शाखाको रूपमा अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र सञ्चालनमा आएपछि दुखी मण्डलले उपचार पाउनुभयो। अहिले उहाँले सामान्य जीवन मात्रै होइन, सोही अस्पतालमा रोजगारीसमेत पाउनुभएको छ।

आफू आमा–बुबा र परिवारका लागि बोझ बनेको सम्झँदै दुखी मण्डलले भन्नुभयो, “यो अस्पताल हामी दाजुबहिनीका लागि आशीर्वाद बन्यो। नयाँ जीवन पाएका हामी दुवै दाजुबहिनीको विवाहसमेत भइसकेको छ। यही अस्पतालमा महिनाको ३० हजार रुपियाँसम्म कमाइ हुने रोजगारी पाएर अहिले सुन्दर र खुसी जीवन बिताइरहेका छौँ।”

अस्पतालका प्रमुख भोगेन्द्र महतोका अनुसार अस्पतालको चिकित्सक टोली दुखी मण्डलको घर पुग्दा उहाँकी दिदी ललिता मण्डलसमेत खुट्टा मोडिएको अपाङ्गता समस्यामा रहेको भेटिएको थियो। डेढ वर्षको निरन्तर उपचारपछि दाजुबहिनी दुवैको जीवनमा ठुलो परिवर्तन आएको उहाँले बताउनुभयो। अहिले दुवैको विवाहसमेत भइसकेको छ।

दुखी मण्डलले यही अस्पतालबाट तीन महिनाको तालिम लिएर अपाङ्गता भएका बालबालिकाका लागि विशेष जुत्ता बनाउने काम गर्दै महिनाको ३० हजार रुपियाँसम्म आम्दानी गरिरहनुभएको छ।

प्रमुख महतोका अनुसार पछिल्लो ११ वर्षमा अस्पतालले १५ सय बालबालिकाको उपचार गरी निको बनाएको छ। मधेश प्रदेशस्तरीय यस अस्पतालमा भारतबाट समेत अपाङ्गता भएका बालबालिका उपचारका लागि आउने गरेका छन्।

हाल अस्पताल भाडाको भवनमा सञ्चालन भइरहेकाले यसको स्थायित्वका लागि पाँच कठ्ठा जग्गा आवश्यक रहेको महतोले बताउनुभयो। लहान नगरपालिकाले बोर्ड बैठकबाट उपलब्ध गराएको जग्गामा मधेश प्रदेश सरकारबाट आएको ४० लाख रुपियाँ बजेट कानुनी जटिलताका कारण प्रयोग हुन नसकेको उहाँको भनाइ छ। त्यसैले दाता परिवारसँग जग्गा उपलब्ध गराउन पहल भइरहेको उहाँले जानकारी दिनुभयो।

अन्तर्राष्ट्रियस्तरको सेवा दिइरहेको सगरमाथा चौधरी आँखा अस्पताल र रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानसँगै भाडाको आठ कोठे भवनमा सञ्चालन भइरहेको यस अस्पतालको स्थायित्वका लागि आवश्यक पाँच कठ्ठा जग्गा उपलब्ध गराउन दाता परिवारसँग छलफल गरिने मानवअधिकारकर्मी राजकुमार राउतले बताउनुभयो।