गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ३० गते । स्वास्थ्य अनुसन्धान पत्रकारिता अवार्ड गोरखापत्र दैनिकका स्वास्थ्य समाचारदाता सरोज ढुङ्गेललाई प्रदान गरिएको छ ।
१९ वर्षअघिदेखि गोरखापत्र दैनिकमा सक्रिय ढुङ्गेलले स्वास्थ्य पत्रकारितामार्फत ‘स्वास्थ्य अनुसन्धान’ मा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या सचिव डा. विकास देवकोटा र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रमोद जोशीले पत्रकार ढुङ्गेललाई उक्त अवार्ड प्रदान गर्नुभयो ।
स्वास्थ्य अनुसन्धान परिषद्ले स्थापना गरेको उक्त अवार्ड अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको हो । यो वर्ष उक्त अवार्डका लागि छ जनाले आवेदन दिनुभएकोमा परिषद्ले छनोट गरेको मूल्याङ्कन समितिले स्वास्थ्य पत्रकार ढुङ्गेललाई उक्त अवार्ड प्रदान गरिएको हो । यस्तै हेल्थ रिर्सच अवार्ड डा. अभिलाषा खत्रीले प्राप्त गर्नुभयो । यस्तै योङ हेल्थ रिसर्च अवार्ड डा. आरिस भण्डारी, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्च अवार्ड डा. नितेष कर्ण, हेल्थ रिसर्चर लाइफटाइम एचिभमेन्ट अवार्ड डा. सुवर्णकुमार खत्रीलाई प्रदान गरिएको छ । यस्तै स्वास्थ्य अनुसन्धान बेस्ट पेपर प्रिजेन्टेसन अवार्ड रश्मि थापा, पूजा पौडेल, विष्णु प्रधान, मेध कोइराला र वासुदेव पराजुलीको समूहले प्राप्त गरेको छ ।