नवराज नेपाली
बागलुङ (गलकोट), चैत २८ गते । लामो समयदेखि जीर्ण बनेको काठे खोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडकखण्ड कालोपत्र गरिएको छ । निर्माण व्यवसायीको लापरवाहीले दुई वर्षमा सक्नुपर्ने सडक पाँच वर्ष वित्दा बल्ल कालोपत्र भएको हो।
उक्त सडक गाउँपालिकाकै पहिलो लामो कालोपत्र सडक भएको छ। बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७, रेश जाने चार किमि सडक दुई वर्षमा कालोपत्र सक्नेगरी सम्झौता गरिएकोमा पाँच वर्ष बित्दा कालोपत्र भएको हो । कालोपत्र भएपछि रेश जाने यात्रुलाई सहज हुने भएको छ । सडक कालोपत्रको काम धमाधम भइरहेको छ।
कोरोना, आर्थिक सङ्कट र भुक्तानीजस्ता समस्या देखाउँदै निर्माण व्यवसायीले पटक–पटक म्याद थप्दै सडक अलपत्र पार्दै आएको थियो । पुसमा ग्राभेल गरेको सडक चैतमा कालोपत्र भएकाले केही दिनमै सडक सम्पन्न गर्ने तयारी निर्माण कम्पनीको रहेको काठे खोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो।
सङ्घीय सरकार र काठे खोला गाउँपालिकाको साझेदारीमा निर्माण थालिएको सडक समयमै काम नहुँदा गाउँपालिकाको लागतमा कालोपत्र भएको हो । उक्त सडक गाउँपालिकाका सबैभन्दा बढी लागतमा कालोपत्र भएको काठे खोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । २०७७ जेठमा दुई वर्षमा कालोपत्र सक्नेगरी जोशी–निशान–आचार्य जेभीसँग ६ करोड ७१ लाख रुपियाँमा चार किमी सडक कालोपत्र र ढलान गर्ने सम्झौता गरिएको सडक समयमै काम नहुँदा ६ पटक म्याद थपिएको थियो।
निर्माण व्यवसायीले अहिले सडक धमाधम कालोपत्र गरिरहेको बताउँदै गाउँपालिका अध्यक्ष राजु थापाले पालिकाले अपनत्व लिँदा सडक कालोपत्र भएको बताउनुभयो । सङ्घीय सरकारले साझेदारी गरेर ठेक्कामा गए पनि समयमै काम नहुँदा गाउँपालिकाले चार करोड लगानी गरेर सडक सम्पन्न गर्न थालेको बताउनुभयो ।
थापाले गाउँपालिकामा छोटा सडक कालोपत्र र ढलान भए पनि चार किमि सडक अहिलेसम्मकै लामो पक्की सडक रहेको बताउनुभयो । काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा ७ को रेश वडा कार्यालयनजिकै कालोपत्र सडक पुगेपछि यात्रामा सहज हुने स्थानीय छत्रबहादुर कार्कीले बताउनुभयो।
गाउँपालिकामा पहिलो पटक रेश जाने सडक कालोपत्रका लागि २०७७ जेठमा काम थालिएको भए पनि पाँच वर्षपछि सडक कालोपत्र भएको हो ।
उक्त सडक बरेङ–शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् । लामो समयको प्रयासपछि रेश गाउँ जाने सडक कालोपत्र भएको हो। प्रिमिक्स कार्पेट प्रविधिद्वारा उक्त सडक कालोपत्र भइरहेको छ।
कोराना कहर, भुक्तानीमा समस्या र कच्चा सामग्रीको अभावले काममा ढिला भएको बताउँदै निर्माण व्यवसायीले छिट्टै सडक हस्तान्तरण गर्ने जनाएको छ । पाँच वर्षदेखि सडक चौडा पारेर छोड्दा हिलो र धुलोले सवारी फस्ने लगायतका समस्याले यात्रुलाई रेश पुग्न एक घण्टा समय लाग्ने गरेको थियो । सडक कालोपत्र भएपछि १५ मिनेटमै गाउँपालिकाको केन्द्रबाट रेश पुग्न सकिने भएको छ।