• २८ चैत २०८२, शनिबार

नेपाली सेनाद्वारा कास्कीको अन्नपूर्णमा निशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन

blog

सेनाद्वारा सञ्चालित शिविर ।

रमेश पौडेल 

पोखरा, चैत २८ गते । नेपाली सेनाद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कास्कीको अन्नपूर्णको वडा नम्बर ४ सल्यानमा कृष्णदल गण फूलबारी पोखराको नेतृत्वमा भएको स्वास्थ्य शिविरमा करिब ५ सय ५० जना स्थानीयले स्वास्थ्य परीक्षण गराएको गणका गणपति  प्रमुख सेनानी राजेन्द्र पुडासैनीले जानकारी दिनुभयो । 

विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिएको उक्त बृहत स्वास्थ्य शिविर अन्नपूर्ण गाउँपालिका, सैनिक अस्पताल पोखरा ,  एक्स सर्भिसम्यान , आविष्कार हस्पिटल पोखरा, हिमालयन आँखा हस्पिटल पोखरा , कुटी रिसोर्ट लगायतका संस्थाहरुले सहयोग गरेको जानकारी उहाँले दिनुभयो । 

  उक्त शिविरमा   स्त्री तथा प्रसुति रोग, वरिष्ठ फिजिसियन, छाला तथा यौन रोग, नाक कान घाँटी, पेट छाती तथा मुटु रोग, दाँत  ,आँखा , प्रयोगशाला सम्बन्धी सेवा प्रदान गरिएको थियो। साथै उपस्थित सबैजनाको प्रेसर तथा सुगरसमेत परीक्षण गरिएको थियो ।

उक्त अवसरमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा व्यक्तित्वहरुलाई नम्बर ३ बाहिनीका बाहिनीपति सहायकरथी श्री अमृत काजी गुरुङद्वारा प्रशंसा पत्र समेत वितरण गरिएको थियो।