• २८ चैत २०८२, शनिबार

काठेखोलाको केन्द्र–रेश सडक पाँच वर्षपछि कालोपत्र

blog

काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडकमा गरिएको कालोपत्र। तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), चैत २८ गते ।
लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक कालोपत्र गरिएको छ। निर्माण व्यवसायीको लापरवाहीका कारण दुई वर्षमा सम्पन्न हुनुपर्ने सडक पाँच वर्षपछि मात्र कालोपत्र भएको हो। यो सडक गाउँपालिकाकै पहिलो लामो कालोपत्र सडकसमेत बनेको छ।

बागलुङको काठेखोला गाउँपालिका–७ रेश जाने चार किलोमिटर सडक दुई वर्षमा कालोपत्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको भए पनि पाँच वर्षपछि मात्र कालोपत्र भएको हो। कालोपत्र भएपछि रेश जाने यात्रुलाई सहज हुन थालेको छ। सडक कालोपत्रको काम धमाधम भइरहेको छ।

कोरोना महामारी, आर्थिक समस्या र भुक्तानी जस्ता कारण देखाउँदै निर्माण व्यवसायीले पटक–पटक म्याद थप गरी काम अलपत्र पारेको थियो। पुसमा ग्राभेल गरिएको सडक चैतमा धमाधम कालोपत्र भइरहेकाले केही दिनमै काम सम्पन्न गर्ने तयारी निर्माण कम्पनीले गरेको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो।

संघीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा निर्माण सुरु गरिएको सडक समयमै सम्पन्न नहुँदा अन्ततः गाउँपालिकाको लगानीमा कालोपत्र गरिएको हो। उक्त सडक गाउँपालिकाकै सबैभन्दा बढी लागतमा कालोपत्र भएको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो। कालोपत्रका लागि तयार पारिएका पूर्वाधार सडक लामो समय अलपत्र परेपछि बिग्रिएका थिए।

२०७७ जेठमा दुई वर्षभित्र कालोपत्र सक्ने गरी जोशी÷निशान÷आचार्य जेभीसँग रु. ६ करोड ७१ लाखमा चार किलोमिटर सडक कालोपत्र तथा ढलान गर्ने सम्झौता गरिएको थियो। तर समयमै काम नहुँदा छ पटक म्याद थप गरिएको थियो।

निर्माण व्यवसायीले अहिले सडक धमाधम कालोपत्र गरिरहेको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो। संघीय सरकारले साझेदारीमा ठेक्का लगाए पनि समयमै काम नहुँदा गाउँपालिकाले चार करोड रुपैयाँ लगानी गरेर सडक सम्पन्न गर्न लागेको उहाँले जानकारी दिनुभयो। थापाका अनुसार गाउँपालिकामा छोटा सडक कालोपत्र तथा ढलान भए पनि यो चार किलोमिटर सडक हालसम्मकै लामो पक्की सडक हो।

काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नम्बर ७ को रेश वडा कार्यालय नजिकसम्म कालोपत्र सडक पुगेपछि यात्रामा सहज भएको स्थानीय छत्रबहादुर कार्कीले बताउनुभयो।

२०७७ जेठमा निर्माण सुरु गरिएको भए पनि पाँच वर्षपछि सडक कालोपत्र भएको हो। उक्त सडक बरेङ–शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन्। लामो प्रयासपछि रेश जाने सडक कालोपत्र भएको हो। प्रिमिक्स कार्पेट प्रविधिद्वारा सडक कालोपत्र भइरहेको छ।

कोरोना महामारी, भुक्तानी समस्या र कच्चा सामग्री अभावका कारण काममा ढिलाइ भएको निर्माण व्यवसायीले जनाएको छ। छिट्टै सडक हस्तान्तरण गर्ने तयारी रहेको पनि जनाएको छ। वर्षायाममा हिलो र हिउँदमा धुलोले रेशवासीलाई सास्ती हुँदै आएको थियो।

पहिले एक घण्टा लाग्ने यात्रा अब सडक कालोपत्र भएपछि १५ मिनेटमै काठेखोला गाउँपालिकाको केन्द्रबाट रेश पुग्न सकिने भएको छ।