काठमाडौँ, चैत २७ गते । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले आफ्नो पार्टीलाई ‘पूर्वका राईको पार्टी’ भनी भ्रम फैलाइएको भन्दै पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सीमित नरहेको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उपसभामुख पदमा रुबीकुमारी ठाकुरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले सो कुरा बताउनुभएको हो । श्रम संस्कृति पार्टीले भूगोल, जात र धर्मका आधारमा बाँडिएका सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने उहाँको दाबी छ । मधेसको प्रतिनिधित्वमार्फत उपसभामुखमा ठाकुरलाई रोज्नुको कारण खुलाउँदै सांसद राईले मधेस प्रदेश सबैभन्दा बढी जनसङ्ख्या भएको तथा विगतका शासकबाट सबैभन्दा बढी उत्पीडनमा परेको क्षेत्र भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “श्रम संस्कृति पार्टीलाई पूर्वका राईको पार्टी हो, पूर्वतिरै सकिन्छ वा यो क्षेत्रीय पार्टी हो भन्ने भ्रम प्रवाहित गरियो । म भन्न चाहन्छु– श्रम संस्कृति पार्टी जात, धर्म र भूगोलका नाममा छुट्याइएका तमाम नेपालीलाई एउटै मालामा उनेर अगाडि बढ्न चाहन्छ । हामीले उपसभामुखका लागि मधेस नै किन चुन्यौँ भने मधेस सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रदेश हो र हिजोका शासकहरूबाट सबैभन्दा धेरै थिचिएको प्रदेश पनि हो ।”
मधेसका सयौँ चेलीहरू हेपिएको अवस्थामा रुबीकुमारी ठाकुर उनीहरूको सशक्त आवाज बन्ने विश्वास सांसद राईले व्यक्त गर्नुभयो । लोकतन्त्रको सुन्दर पक्ष नै स्वच्छ प्रतिस्पर्धा भएको उल्लेख गर्दै उहाँले आफ्नो उम्मेदवारलाई समर्थन गर्ने सबै राजनीतिक दल र सांसदहरूलाई धन्यवाद समेत दिनुभयो ।