• २७ चैत २०८२, शुक्रबार

यातायातका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

फाइल तस्बिर

काठमाडौँ, चैत २६ गते । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अधिकृत थापा, तत्कालीन कम्प्युटर अपरेटर जगत ढकाल र बागलुङको गलकोट नगरपालिका–२ का हिमबहादुर बस्नेत थापाको मिलेमतोमा सरकारी अभिलेखमा झूटो विवरण प्रविष्ट गरी भ्रष्टाचार गरेको पाइएको हो । उनीहरूले सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिलाई गैरकानुनी रूपमा प्रतिलिपि दिलाउने बदनियत राखेको आयोगले जनाएको छ ।

हिमबहादुर बस्नेत थापाको नाममा ‘ए’ र ‘बी’ वर्गको पुरानो सवारी चालक अनुमतिपत्र जारी नै नभएको जानकारी हुँदाहुँदै सरकारी विद्युतीय एवम् कागजी अभिलेखमा गैरकानुनी तरिकाले सच्याउने, थपघट गर्ने र हेरफेर गरी गलत लिखत तयार पारिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले थापाको नाममा २०५२ चैत २७ गतेदेखि २०७८ चैत २२ गतेसम्मको अवधि उल्लेख गरी अनुमतिपत्र जारी भएको देखाएका थिए ।

आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसुरमा सजायको मागदाबीसहित शुक्रबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।