काठमाडौँ, चैत २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकले राज्यको अनुभूति गर्न पाउने गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सरकारलाई आग्रह गर्नुभएको छ । सङ्घीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दै उहाँले जनताले उत्तरदायी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणालीको तीव्र आकाङ्क्षा राखेको बताउनुभएको हो ।
राष्ट्रपति पौडेलले सुशासनको प्रवर्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताले गरेको आन्दोलनपछिको जटिल परिस्थितिलाई चिर्दै निर्वाचन सम्पन्न हुनु सकारात्मक कदम भएको बताउनुभयो । भ्रष्टाचारको अन्त्य, विधिको शासन र दण्डहीनताको अन्त्यका लागि संसद्ले नागरिक केन्द्रित र जनकल्याणकारी कानुन निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । निर्माण भएका कानुनको मर्म र भावना अनुरूप प्रभावकारी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेमा आफू विश्वस्त रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
राष्ट्रपतिले न्यायपालिकाबाट हुने न्याय सम्पादन छिटो–छरितो र निष्पक्ष भएमा मात्र सहिदहरूप्रति साँचो सम्मान हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली जनताले पटक–पटक गरेका ऐतिहासिक आन्दोलन र पछिल्लो पटकको 'जेनजी' आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । विदेश पलायन भइरहेको युवा वर्गलाई आफ्नै देश र गाउँमा बसौँबसौँ बनाउनु आजको मुख्य आवश्यकता हो ।”
यसका लागि शैक्षिक प्रणालीमा सुधार र बजारको माग अनुरूपको जनशक्ति उत्पादनमा सरकारले विशेष ध्यान दिने उहाँले बताउनुभयो । सरकारी संयन्त्रमा हुने ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्नुपर्ने राष्ट्रपतिको भनाइ थियो ।
आजका युवाको चाहना विगतभन्दा फरक र नयाँ रहेको औँल्याउँदै राष्ट्रपतिले परम्परागत श्रम क्षेत्रले मात्र अबको जनशक्तिको अपेक्षा पूरा गर्न नसक्ने बताउनुभयो । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरी ‘देशमा केही हुँदैन’ भन्ने निराशाजनक धारणा बदल्न सरकार प्रतिबद्ध रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।







