ताइयुआन, चैत २७ गते । चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो प्रगतिलाई निरन्तरता दिँदै नयाँ इन्टरनेट उपग्रहको समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तर चीनको शान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहीबार बिहान यो प्रक्षेपण सम्पन्न गरिएको हो ।
यस क्रममा परिमार्जित ‘लङ मार्च-६’ वाहक रकेटमार्फत उपग्रह समूह अन्तरिक्षतर्फ पठाइएको थियो । बिहान ३ बजेर ३८ मिनेटमा गरिएको प्रक्षेपणपछि ती उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रवेश गरेका छन् । यो समूह कम कक्षामा रहने इन्टरनेट उपग्रहको २१ औँ समूह भएको बताइएको छ ।
यी उपग्रहको मुख्य उद्देश्य विश्वभर इन्टरनेट सेवा विस्तार गर्नु रहेको छ, विशेष गरी दुर्गम तथा पहुँचभन्दा बाहिर रहेका क्षेत्रमा सञ्चार सुविधा पुर्याउने लक्ष्य राखिएको छ । यसले डिजिटल पहुँच बढाउने र प्रविधिमा आधारित सेवा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उक्त प्रक्षेपण ‘लङ मार्च’ श्रृङ्खलाका रकेटको ६३७ औँ उडान अभियान पनि हो, जसले चीनको अन्तरिक्ष कार्यक्रम निरन्तर रूपमा अगाडि बढिरहेको सङ्केत गर्दछ । चीनले पछिल्ला वर्षमा अन्तरिक्ष प्रविधिमा तीव्र प्रगति गर्दै उपग्रह प्रक्षेपण, अन्तरिक्ष अनुसन्धान र सञ्चार क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ । यो उपलब्धिले चीनको अन्तरिक्ष क्षमता थप सुदृढ बनाउनुका साथै विश्वव्यापी इन्टरनेट सञ्जाल विस्तारमा नयाँ योगदान दिने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा