बिन्दु थापा
तानसेन, चैत २७ गते । पाल्पाको तानसेन नगरपालिका–३ शीतलपाटीमा रहेको नेपाल इन्भेस्मेन्ट मेगा बैँक लिमिटेड पाल्पा शाखाको एटिएम तोडफोड गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । एटिएम तोडफोड गरी फरार रहेका बगनासकाली गाउँपालिका–६, गुँगाका २४ वर्षीय विजय सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार एटिएममा भएको नगद रकम चोरी गर्ने उद्देश्यले एटिएमभित्र जडान गरिएको सिसिटिभी क्यामेरा तोडफोड गरिरहेको अवस्थामा सोही बैँकका सुरक्षा गार्डले देखेपछि नियन्त्रणमा लिन खोज्दा सुनार भागेका थिए ।
फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकसहितको टोली खटी गई सिसी टिभी क्यामेरामा कैद भएको फोटो र भिडियो हेरी सूक्ष्म अनुसन्धान तथा विश्लेषणको आधारमा निज व्यक्तिको खोजतलास गर्ने क्रममा होलाङ्दीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुुभयो ।