काठमाडौँ, चैत २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगतप्रसाद जोशीले कैलाली र कञ्चनपुरमा बसोवास गर्ने मुक्त कमैया र कमलरीको पुनर्स्थापना गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद जोशीले सरकारले कमैया र कमलरी मुक्तिको घोषणा गरेको लामो समय भइसक्दा पनि उनीहरूले परिचयपत्र नपाएको भन्दै प्रश्न गर्नुभयो ।
सांसद जोशीले करिब एक हजार ५०० मुक्त कमैया र कमलरी परिवारसँग अझै पनि परिचयपत्र नभएको र कयौँसँग भूमि समेत नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म एक हजार ५०० परिवारसँग परिचयपत्र समेत छैन । त्यसमध्ये ७०० परिवार मेरै निर्वाचन क्षेत्र कैलाली–३ मा रहेका छन् । उनीहरूले परिचयपत्र कहिले प्राप्त गर्छन् ?”
तत्कालीन सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । सो समयमा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका ३२ हजार ५०९ जना कमैया मुक्त भएका थिए । तर, घोषणा भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि धेरै मुक्त कमैया र कमलरीहरू अझै समाजमा पूर्णरूपमा पुनर्स्थापित हुन सकेका छैनन् ।