• २५ चैत २०८२, बुधबार

कोशी प्रदेशमा पर्यटन प्रवर्धनका लागि पर्यटन पत्रकारिता तालिम धनकुटामा सुरु

blog

तालिम उद्‌घाटन गर्नुहुँदै पर्यटन,वन तथा वातावरणमन्त्री भीम पराजुली । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा, चैत २५ गते। कोशी प्रदेशमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पर्यटन पत्रकारिता तालिम धनकुटाको साँगुरीगढी गाउँपालिका-स्थित नाम्जे थुम्कीमा बुधबार उद्‌घाटन गरिएको छ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको आयोजना तथा पर्यटन कार्यालय धरानको सहकार्यमा सुरु भएको उक्त तालिमको उद्‌घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गर्नुभयो ।

उक्त तालिमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले सरकारी कार्यालयका सन्देश मूलक सूचना सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन गर्ने भनी गरिएको निर्णय सच्याउन आग्रह गर्नुभएको छ ।

यसका साथै उहाँले मन्त्रालयबाट गरिएका अधुरा कामहरूको लागत सङ्कलन गरिरहेको बताउनु भयो।मन्त्री पराजुलीले कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनको दृष्टिले अत्यन्तै सम्भावनायुक्त प्रदेश भएकाले यसको प्रवर्धनमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो।

उहाँले पर्यटन क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश सरकार र सञ्चार माध्यमबिच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। मन्त्री पराजुलीले धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–स्थित नाम्जे, थुम्की, राजारानी, नमस्ते झर्ना, स्काई वाकलगायतका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो।

उहाँले स्थानीय प्राकृतिक सम्पदा, संस्कृतिसँग जोडिएका गन्तव्य र ग्रामीण पर्यटनलाई राष्ट्रिय स्तरमा चिनाउन पत्रकारिताले महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा सम्पन्न उक्त तालिममा कोशी प्रदेशका नौ वटा जिल्लाबाट आएका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका महासचिव हिमा चेम्जुङले जानकारी दिनुभयो।

प्रदेशभरिका पत्रकारहरूलाई पर्यटन क्षेत्रको सम्भावना, प्रवर्धनका उपाय तथा पर्यटनमैत्री समाचार लेखनबारे अभिमुखीकरण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाइएको छ।

उक्त तालिममा सहभागी पत्रकारहरूलाई पर्यटन पत्रकारिताको अवधारणा, पर्यटकीय सम्भावनाको खोजी, पर्यटनमैत्री समाचार लेखन, स्थानीय गन्तव्यको ब्रान्डिङ तथा प्रचारप्रसारका विषयमा प्रशिक्षण केन्द्रित रहेर प्रशिक्षण गरिने आयोजक संस्थाले जनाएको छ ।

कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका पर्यटकीय गन्तव्यहरूलाई उजागर गर्दै पर्यटन क्षेत्रको दिगो विकासमा टेवा पुर्‍याउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्ष भरत खड्काले बताउनुभयो ।

उक्त कार्यक्रममा सागुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रूम्दाली राई , पर्यटन कार्यालय धरानका प्रमुख भिषम राईलगायतको उपस्थिति रहेको थियो ।