बाबुराम देवकोटा
सिन्धुली, चैत २५ गते । सिन्धुली जिल्लामा पहिलो पटक कपिलाकोट गाउँपालिका–६ भुताहाका किसानले मकैको ‘रामपुर हाईब्रिड–१०’ जातको बिउ उत्पादन सुरु गरेका छन्।
यस वर्ष कृषि विकास कार्यालय सिन्धुलीको अगुवाइमा भुताहा स्थित कपिलाकोट साना किसान कृषि सहकारी संस्थामा आबद्ध १६ जना किसानले बिउ उत्पादन थालेका हुन्। परीक्षणका लागि गरिएको बिउ उत्पादन सफल भएपछि स्थानीय किसानहरू उत्साहित भएका छन्।
उत्पादन भएको बिउ बढी मूल्यमा बिक्री हुने र थोरै जमिनबाट बढी फाइदा हुने भएकाले किसानहरू उत्साहित छन्। संलग्न किसान अर्जुनबहादुर गुर्मछान मगरले भन्नुभयो,, “रामपुर हाईब्रिड–१० जातको बिउ उत्पादनका लागि प्राविधिकहरूको निरन्तर सहयोग रहेको छ। हामीले पनि तिनीहरूको सल्लाह अनुसार काम गरिरहेका छौं।”
किसानहरूले उत्पादन गरेको बिउ बजारमा विक्रि गर्न मुक्तिनाथ कृषि कम्पनीसँग सम्झौता गरेका छन्। उक्त कम्पनीले मकै भाँचेर तीन–चार दिन सुकाएको घोगा सहितको बिउ प्रतिकेजी ११५ रुपियाँ र छडाएको (दाना) बिउ प्रतिकेजी १६० रुपियाँमा खरिद गर्नेछ।
कृषि विकास कार्यालयका प्रमुख अनुप अधिकारीका अनुसार बिउ उत्पादनका लागि राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम (रामपुर, चितवन) र मरिण गाउँपालिकासँग साझेदारी गरिएको छ। नार्कले किसानलाई मकैको भाले र पोथि बिउ तथा प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराएको छ। कार्यालयले प्राविधिक सहयोग, बिषादी र रासायनिक मल सुनिश्चित गरी सहयोग गर्दै आएको छ।
मरिण गाउँपालिकामा मकै बिउ उत्पादन कार्यक्रमको मङ्गलबार राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम, बागमती प्रदेश बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख तथा वैज्ञानिक, र जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरूले स्थलगत अनुगमन तथा सल्लाह दिएका छन्।
रामपुर चितवनका प्रमुख तिर्थराज रिजालले भन्नुभयो, “गत वर्ष सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले २२ कठ्ठा जमिनमा गरेको रामपुर हाईब्रिड–१० जातको बिउ उत्पादन सफल भएकोले मरिण गाउँपालिकामा पनि सुरु गरिएको हो। यो जात लोकप्रिय र माग बढी छ।”
बागमती प्रदेश बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख राजन ढकालले भन्नुभयो, “प्रारम्भिक परीक्षणको नतिजा उत्साहजनक छ। गुणस्तर नियमन गर्दै बिउ उत्पादन भइरहेको छ, जसले किसानलाई बढी फाइदा दिनेछ। यसरी उत्पादन गरे बाहिर पठाइएको पैसा पनि बचत हुनेछ।”
जिल्ला समन्वय समिति उप–प्रमुख शान्ता कार्कीले भन्नुभयो, “माटो र हावापानी सुहाउने मकै बालीको विकास आवश्यक छ। घोगा लागेर दाना नलाग्ने समस्या समाधान गर्न सजग हुनुपर्छ।”
मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले भन्नुभयो, “पहिले सिन्धुली र लालबन्दिबाट मकै बिउ ल्याइरोप्थे, अहिले आफैं हाईब्रिड बिउ उत्पादन गरिरहेका छन्। पालिकाले किसानलाई सक्दो सहयोग गरिरहेको छ।”