• २४ चैत २०८२, मङ्गलबार

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय

बजेट सुनिश्चित भएसँगै सञ्चालनमा आउने

blog

चौमाला समाचारदाता

चौमाला (कैलाली), चैत २४ गते । भौतिक संरचना बनेको लामो समयदेखि अलमलमा परेको कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आगामी शैक्षिक सत्रबाट सञ्चालनमा आउने भएको छ । नयाँ सरकारले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट र कानुनी प्रक्रियालाई प्राथमिकता दिएर नयाँ शैक्षिक सत्रबाट पठनपाठन सुरु गर्ने खबरले सुदूरपश्चिमवासीमा उत्साह छाएको छ । 

नेपाल सरकारले २०८० माघ २९ गते मन्त्रीपरिषद् बैठकले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने निर्णय गरेको थियो ।

करिब ५१ हेक्टर क्षेत्रफलमा फैलिएको यो संरचनामा नेपाल सरकारको छ अर्ब रुपियाँभन्दा बढी लगानी भइसकेको र ४२ वटा भवन ठडिएको पनि धेरै समय बितिसकेको छ ।  

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं. ५ बाट निर्वाचित सांसद डा. आनन्दबहादुर चन्द उक्त विश्वविद्यालय आगामी शैक्षिक सत्रदेखि सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुहुन्छ  । 

उहाँ भन्नुहुन्छ, “विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेटको सुनिश्चित भइसकेको छ । यो विश्वविद्यालय सञ्चालनमा आएसँगै सुदूरपश्चिम क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो अवसरको ढोका खुल्ने छ ।”  सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक विगत दुई वर्षदेखि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा थन्किएको छ । प्रतिनिधि सभा सदस्य चन्द नयाँ सरकारले गेटामा शैक्षिक कार्यक्रम सुरु गर्न र अस्पतालको सेवालाई विस्तार गर्न कानुनी र व्यावहारिक बाटो खोल्ने बताउनुहुन्छ ।  उहाँका अनुसार सुरुको चरणमा ५० जना विद्यार्थीलाई एमबिबिएस वा चिकित्सा शिक्षा पढाउने योजना रहेको छ ।  प्रधानमन्त्री बालेन्द्र शाहले यो विश्वविद्यालय सञ्चालनमा चासो दिनुभएकाले बजेटको व्यवस्था भएको उहाँको भनाइ छ । 

सुदूरपश्चिमका सांसदहरूले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा यो विश्वविद्यालय सञ्चालनका लागि रणनीतिक योजनामा राखेर बजेट विनियोजन गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गरेको कैलाली निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य खेमराज कोइरालाले बताउनुभयो । 

उहाँले विश्वविद्यालय तत्काल सञ्चालनमा ल्याउन दुई अर्ब ५८ करोड रुपियाँ बजेट सुनिश्चित भएको र प्रधानमन्त्री शाहले विश्वविद्यालयको काम तत्काल अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभयो । 

यसअघि सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पताललाई यस विश्वविद्यालयसँग आबद्ध गर्ने विषयमा प्रदेश सरकारले स्वीकृति दिइसकेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा सुनीलकुमार जोशीले नयाँ शैक्षिक सत्रबाट चार वटा सङ्कायमा पठनपाठन सुरु गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले सरकारले विश्वविद्यालय सञ्चालनलाई प्राथमिकतामा राखेको र आवश्यक बजेट व्यवस्थापनमा सकारात्मक रहेको बताउनुभयो ।

विश्वविद्यालय सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले सुदूरपश्चिमवासीको लामो समयदेखिको सपना साकार हुने आशा व्यक्त गर्नुभयो ।  विश्वविद्यालय सभाको पहिलो बैठक आगामी २५ गते बिहान ९ बजेदेखि विश्वविद्यालयपरिसरमै आयोजना हुने भएको छ । बैठकको सम्पूर्ण तयारी पूरा भएको विश्वविद्यालयका उपकुलपति प्राडा सुनीलकुमार जोशीले जानकारी दिनुभयो ।  

यसअघि विश्वविद्यालय सभाको तीन वटा बैठक सङ्घीय राजधानी काठमाडौँ भएकोमा पहिलो पटक विश्वविद्यालय रहेकै स्थानमा बैठक बोलाइएको हो ।

जोशीका अनुसार बैठकमा विश्वविद्यालयसँग सम्बन्धित नियमावली, विभिन्न कार्यविधिको मनोनयन तथा अनुमोदन, आर्थिक नियमावली र खरिद नियमावलीका विषयमा छलफल हुने छ ।