शिवशङ्कर मिश्रा
बारा, चैत १८ गते । बारा निर्वाचन क्षेत्र नम्बर–३ बाट पहिलो पटक उम्मेदवार बनेका इन्जिनियर अरविन्द साहले प्रतिनिधि सभा निर्वाचन निर्वाचित भएर संसदीय यात्रा तय गर्नुभयो ।
पहिलेदेखि नै जनताको सेवा गर्ने इच्छा रहेका साहले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएको थियो । उहाँ फराकिलो मतान्तरसहित निर्वाचित हुनुभयो । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार फरमुल्लाह मन्सुरलाई ३० हजार ६४५ मतको फराकिलो अन्तरले पराजित गर्दै साहले सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो ।
प्रतिनिधि सभा निर्वाचनमा साहले ४० हजार ६९७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मन्सुरले १० हजार ५२ मतमा सीमित हुनुभयो । बारा जिल्लाको महागढीमाई नगरपालिका–७ निवासी ४२ वर्षीय साह पेसाले इन्जिनियर हुनुहुन्छ ।
डिजिटल भुक्तानी सेवा खल्तीका सहसंस्थापक साह ग्रामीण विकास विषयमा दर्शनाचार्य (एमफिल) सम्मको अध्ययन पूरा गर्नुभएको छ । कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत रोजगारी सिर्जना र डिजिटल सुशासन प्रवाह गर्ने विषयको ज्ञान राख्नुहुन्छ । साहले सामाजिक काममा पनि सहभागिता जनाउँदै आएको बताउनुभयो ।
साहले जनताको अपेक्षा अनुसार छिटो, पारदर्शी र झन्झटरहित सेवा प्रवाह सुनिश्चित गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले डिजिटल प्रणालीमार्फत सेवा प्रवाह सुधार गर्दै उत्पादनमुखी कार्यक्रम लागु गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले सुशासनलाई मजबुत बनाउनुका साथै रोजगारी सिर्जनामा पनि टेवा पु-याउँछ । उहाँले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म विकासका प्रयासलाई स्पष्ट दृष्टिकोण, प्रविधिको उपयोग र परिणाममुखी कार्यान्वयनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । सूचना प्रविधि, ग्रामीण विकास तथा व्यवस्थापन क्षेत्रमा रहेको आफ्नो अनुभवलाई उपयोग गर्दै बारा जिल्लाको विकासलाई योजनाबद्ध, कानुनसम्मत र प्रभावकारी ढङ्गले अघि बढाउने उहाँको भनाइ छ ।
साहले सार्वजनिक सेवा प्रवाह सुधार आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले वडा तहसम्म डिजिटल सेवा विस्तार गरी ई–गभर्नेन्स प्रणाली लागु गर्न सके नागरिकले छिटो, पारदर्शी र सहज सेवा प्राप्त गर्नेछन् । उहाँले भन्नुभयो, “यसले नागरिक र राज्यबिचको विश्वाससमेत सुदृढ बनाउँछ ।”
युवाशक्तिलाई उत्पादनसँग जोड्ने योजना अघि सार्दै उहाँले सिप विकास, प्रविधिमा आधारित उद्यमशीलता र स्टार्टअप प्रवर्धनमार्फत रोजगारी सिर्जना गर्ने बताउनुभयो । अवसरको अभावमा बिदेसिन बाध्य युवालाई स्वदेशमै अवसर सिर्जना गर्नु अहिलेको प्रमुख आवश्यकता हो भन्दै यसका लागि आफूले पहल गर्ने उहाँको भनाइ छ ।
उहाँले कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउनेतर्फ जोड दिँदँ सिँचाइ, भण्डारण, प्रशोधन तथा बजार व्यवस्थापनमा सुधार गर्दै मूल्य शृङ्खला विकासमार्फत कृषिलाई सम्मानजनक पेसाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य साहले सडक, खानेपानी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत पूर्वाधारमा लगानी वृद्धि गर्दै मानव पुँजी विकासका विषयमा संसद्मा बलियोसँग आवाज उठाउने बताउनुभयो । साना तथा मझौला उद्यम, महिला तथा स्थानीय उत्पादनलाई बजार प्रणालीसँग जोड्दै समावेशी विकास सुनिश्चित गर्ने उहाँको योजना छ ।
सङ्घीय संरचनाको प्रभावकारी उपयोग गर्दै डिजिटल कनेक्टिभिटी, जलस्रोत व्यवस्थापन र उत्पादनमुखी लगानीलाई प्राथमिकता दिन सके बारा जिल्लालाई दीर्घकालीन आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न सकिने भन्दै यी कामलाई प्राथमिकताका साथ अगाडि बढाउन पहल गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।