गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १४ गते । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार मन्त्रालय पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्नुअघि मन्त्री पौडेलले शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “पर्यटन क्षेत्र सबैभन्दा संवदेनशील क्षेत्र हो । प्रर्यटनको प्रवर्धन नगरी यस क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न समस्या रहेकाले अन्तरमन्त्रालय समन्वयमार्फत विद्यमान समस्या समाधानतर्फ लाग्छौँ । एक सय बुँदाको कार्यसूची अनुसार सुधारका काममार्फत पर्यटन क्षेत्रको विकासतर्फ अघि बढ्छौँ ।”
नेपाललाई युरोपेली सङ्घको कालो सूचीबाट निकाल्ने, नियमित सञ्चालनमा आउन नसकेका अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलगायतका थुप्रै महत्वपूर्ण कार्यसम्पादन गर्नुपर्ने जिम्मेवारी रहेकाले महत्वपूर्ण एक सय वटा कामको सूची बनाएर अघि बढ्ने जानकारी दिनुभयो ।
पर्यटकीय राजधानी पोखराको मझेरी पाटनमा जन्मिनुभएका उहाँले पदभार ग्रहण गरेसँगै कास्कीले दोस्रो पटक पर्यटनमन्त्री पाएको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर पर्यटन मन्त्रालयको जिम्मेवारीमा पुग्नुभएको हो ।
यसअघि कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएर विसं २०७४ साल चैत २ गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा स्व. रवीन्द्र अधिकारी पर्यटनमन्त्री बन्नुभएको थियो ।
शिक्षक, लेखक, अभियन्ता हुँदै विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार हुँदै राजनीतिमा प्रवेश गर्नुभएका मन्त्री पौडेलले नीतिगत सुधारमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।