• २६ फागुन २०८२, मङ्गलबार

तनहुँका दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ रास्वपा प्रथम

blog

दमौलीमा गरिएको मत गणना । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, फागुन २६ गते ।
तनहुँका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ ले समानुपातिकतर्फको मतगणना सम्पन्न गरी सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार रास्वपाले जिल्लाभर आफ्नो वर्चस्व कायम गरेको हो ।

जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका दुबै क्षेत्रमा गरी रास्वपाले कुल ६९ हजार १३२ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २७ हजार ४३९ र नेकपा (एमाले)ले १५ हजार ९४० मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले चार हजार ६४८, राप्रपाले तीन हजार ६७, श्रम संस्कृति पार्टीले दुई हजार ७४२ र मङ्गोल नेसनल अर्गनाइजेसनले ७३३ मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाले समानुपातिकतर्फ ३८ हजार ८०७ मत प्राप्त गरी शीर्ष स्थान ओगटेको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ सोही पार्टीले ३८ हजार ४० मत प्राप्त गरेको थियो । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले १५ हजार १७२ र नेकपा (एमाले)ले पाँच हजार ९६० मत ल्याएका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले दुई हजार ८४८, राप्रपाले एक हजार ७७६ र श्रम संस्कृति पार्टीले एक हजार ५३२ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा कुल खसेको ६९ हजार ६५५ मतमध्ये ६७ हजार ७१३ मत सदर भएको र एक हजार ९१९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपा ३० हजार ३२५ मतसहित पहिलो दल बनेको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाले ३२ हजार ६८७ मत पाएको थियो । क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले १२ हजार २६७ र नेकपा (एमाले)ले नौ हजार ९८० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले एक हजार ८००, राप्रपाले एक हजार २९९, श्रम संस्कृति पार्टीले एक हजार २१० र मङ्गोल नेसनल अर्गनाइजेसनले ४६६ मत प्राप्त गरेका छन् ।

यसअघि सार्वजनिक भएको प्रत्यक्षतर्फको नतिजामा पनि तनहुँका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी भइसकेका छन् । क्षेत्र नम्बर १ मा रास्वपाका डा. स्वर्णिम वाग्ले ३८ हजार ४० मतका साथ विजयी हुनुभएको थियो भने क्षेत्र नम्बर २ मा इन्जिनियर श्रीराम न्यौपाने ३२ हजार ६८७ मतका साथ विजयी हुनुभएको थियो। तनहुँको निर्वाचन परिणामले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपाप्रति मतदाताको उल्लेख्य आकर्षण देखिएको छ ।