• २६ फागुन २०८२, मङ्गलबार

दुर्घटनामा तीन जना घाइते

blog

अनिल पराजुली    
हेटौँडा, फागुन २६ गते ।
मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि तीन जना घाइते भएका छन् । इन्द्रसरोवर गाउँपालिका–४ स्याउलीबजारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । सोमबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालक इन्द्रसरोवर–४ राकस खोला बस्ने ५५ वर्षीय रामबहादुर गोले र पछाडि सवार उहाँकी श्रीमती ५० वर्षीया सङ्गीता गोले घाइते हुनुभएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नान्तीराज गुरुङका अनुसार घाइते दुवै जनाको दाहिने खुट्टा, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । फाखेल–हुमाने सडकखण्डमा पुरण्डीबाट राकसखोला तर्फ जाँदै गरेको बा ३१ प ४४०० नम्बरको मोटरसाइकल ओरालोमा अनियन्त्रित भई सडकको बायाँ साइडको नालीमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी फाखेलबाट प्रहरी सहायक निरीक्षक कमलबहादुर खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाएको छ । उहाँहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरी चौकी फाखेलको नियन्त्रणमा रहेको छ ।

त्यस्तै, मनहरी गाउँपालिका–८ भलादमी चोकमा भएको अर्को सवारी दुर्घटनामा एक बालक घाइते हुनुभएको छ । ज्यामिरेबाट मनहरीतर्फ आउँदै गरेको ना २ ह ५०७१ नम्बरको अटोलाई सोही दिशातर्फबाट आउँदै गरेको प्रदेश २–०३–०१२ प ८७६४ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा अटोमा सवार मनहरी–९ ज्यामिरे बस्ने ७ वर्षीय आवास प्रजा घाइते हुनुभएको छ । प्रवक्ता गुरुङका अनुसार टाउकोमा चोट लागेका बालकलाई मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनको पुष्पाञ्जली अस्पताल रिफर गरिएको छ ।

प्रहरीले अटो चालक मनहरी–९ ज्यामिरे बस्ने ३८ वर्षीय रामशरण मोक्तानलाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक भने दुर्घटनास्थलमै मोटरसाइकल छाडेर फरार भएका छन् । चालक र मोटरसाइकलमा सवार अर्को व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।