• २६ फागुन २०८२, मङ्गलबार

दादुरा सङ्क्रमितको आइसोलेसनमा सघन उपचार

blog

बुर्तिवाङ अस्पतालको आइसोलेसनमा दादुराका बिरामीको उपचार गरिदै । तस्बिर सौजन्य : डा. किरण तिवारी

रामकृष्ण बोहरा
बागलुङ, फागुन २५ गते ।
पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ बोबाङका बालबालिकामा दादुरा फैलिएपछि बुर्तिवाङ जिल्ला अस्पतालमा आइसोलेसन बनाएर उपचार थालिएको छ । दादुरा सङ्क्रमितमध्ये २० जनाको बुर्तिबाङ अस्पताल र अन्यको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ ।

माघ मसान्तदेखि एक–दुई हुँदै फैलिएको दादुरा बालबालिकासहित ५० जनामा देखिएको छ । पछिल्लो पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थप पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो । केही दिनअघि नमूनाको रुपमा पहिलो चरणमा ८ जनाको परीक्षण गर्दा एक जना दुदुरा सङ्क्रमण पुष्टी भएको थियो ।

‘‘बोबाङ गाउँका धेरै बालबालिकामा दादुराको समस्या देखिएपछि सघन रुपमा उपचार सेवा थालेका छौं’’ शर्माले भन्नुभयो, ‘‘तत्कालका लागि बुर्तिवाङ जिल्ला अस्पतालमा तत्काल १४ बेडको आइसोलेसन बनाएर सघन उपचार भइरहेको छ ।’’ उहाँका अनुसार, चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले बुर्तिवाङ पुगेर उपचार थालिसकेको छ ।

यसअघि शर्मासहित धौलागिरी प्रादेशिक अस्पतालका डा. सन्दिप केसी लगायतका स्वास्थ्यकर्मीको टोली बोबाङ गाउँ पुगेर बिरामीको उपचार गर्नुभएको थियो । ‘‘बिरामी बालबालिकामा ज्वरो, रुघाखोकी र शरीरमा बिबिरा देखिएका छन्’’ शर्माले भन्नुभयो, ‘‘दादुरा रोकथामको उपाय खोज्दै जन्मेको १५ महिनाभित्र लगाइसक्नुपर्ने खोप नलगाएका कारण वा अन्य के कारणले दादुरा फैलियो भन्नेबारे अध्ययन भइरहेको छ ।’’

भाइरल प्रकृतिको रोग भएकाले कोभिड झै आइसोलेसनमा राखेर उपचार गर्न सकेमा मात्र निको हुने र रोकथाम गर्न अभिभावकलाई सचेत गराइएको छ । दादुराको समस्या देखिएपछि उपचारसहित खोजी र परीक्षणको दायरा पनि फराकिलो बनाइएको जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरे बताउनुभयो ।

‘‘आवश्यक औषधी, मास्क र सूईलगायतका सामग्रीहरु सङ्कलन भइरहेको छ, उपचारमा पनि स्वास्थ्यकर्मी परिचालन भएका छन्,’’ जनस्वास्थ्यका सूचना अधिकारी समेत रहनुभएका घिमिरेले भन्नुभयो । ढोरपाटन नगर स्वास्थ्य शाखाका प्रमुख भूमिश्वर शर्मासहित स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी पनि नियमित बालबालिकाको उपचारमा खटिनुभएको छ । शङ्कास्मद बिरामी आइसोलसनमा बस्ने र गाउँमा सचेतनामुलक कार्यक्रम पनि सञ्चालन गर्न सुरु भइसकेको घिमिरेले जानकारी दिनुभयो ।  

तीन दिन विद्यालय बन्द
बोबाङमा दादुरा फैलिएपछि तीन दिन विद्यालय समेत बन्द गरिएको छ । समयमै सर्तकता अपनाई थप रोग फैलिन नदिन ढोरपाटन नगरकार्यपालिका र स्थानीय द्रुत प्रतिकार्य समितीको बैठकले फागुन २५ देखि २७ गतेसम्म विद्यालय पूर्णरुपमा बन्द गर्ने गरिएको शिक्षा अधिकृत पुष्पक दाहालले जानकारी दिनुभयो ।

गण्डकीको स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक
महामारीको रुपमा फैलिएको दादुरा रोगको सङ्क्रमणलाई कसरी नियन्त्रण गर्ने र हालसम्म अवलम्बन गरिएका रणनीतिको प्रभावकारिता, आगामी रणनीतिको विषयमा छलफल गर्न गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठक, नेपाल सरकारका स्वास्थ्य सचिव डा. विकास देवकोटा, मन्त्रालयका सचिव डा. युवानिधी बसौला, चिकित्सा महाशाखा प्रमुख डा. रमेश केसी, आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. रेखा शर्मा, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि लगायत संघ र प्रदेश सरकारका अधिकारीबिच आकस्मिक बैठक बसेको छ ।

बैठकपछि आवस्यक औषधी र स्वास्थ्य जनशक्तिसहित विश्व स्वास्थ्य संगठनका अधिकारीहरु आइतबार प्रभावित क्षेत्रमा पुग्नुभएको छ । सोमबार स्वास्थ्य मन्त्री पाठक र मन्त्रालयका सचिव सहितको टोली बोबाङ पुग्ने छ । ‘‘बिरामीहरुको उद्धार, उपचार र नियन्त्रणमा प्रदेश सरकारले कुनैपनि प्रकारको कमि हुन दिँदैनौं’’ मन्त्री पाठकले भन्नुभयो ।