• २६ फागुन २०८२, मङ्गलबार

वार्षिक बिस लाखको गँड्यौला मल बिक्री

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, फागुन २५ गते । बाँकेमा एक जना किसानले वार्षिक २० लाख रुपियाँको गँड्यौला मल उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । 

नेपालगन्ज उपमहानगरपालिका–१८, तेजनगरका वीरबहादुर हमालले चार कट्ठा जग्गा भाडामा लिएर ६० वटा बेडमार्फत सो मूल्य बराबरको गँड्यौला मल बिक्री गरिरहनुभएको हो ।  भर्मिक कम्पोस्ट मल उत्पादनमा सक्रिय हमालले गोबर खरिद गरेर एक पटकमा करिब १२ क्विन्टलसम्म गँड्यौला मल उत्पादन गर्दै आएको बताउनुभयो । “एक पटक किनेको गोबरबाट चार पटकसम्म मल उत्पादन गर्न सकिन्छ । यसले लागत घटाएर आम्दानी बढाउन सहयोग गर्छ,” उहाँले भन्नुभयो । 

माटोको ऊर्वराशक्ति बढाउन, बालीबिरुवाको वृद्धि सन्तुलित बनाउन र वातावरण संरक्षणमा योगदान पु¥याउन यस्तो मल उपयोगी हुने हमालले बताउनुभयो । उहाँले ‘आइनिया फेटेटरी’ नामक विशेष जातको गँड्यौला प्रयोग गरी जैविक मल तयार पारिँदै आएको जानकारी दिनुभयो । 

रासायनिक मलको विकल्पका रूपमा जैविक मलको प्रयोग बढ्दै गएकाले मलको माग बढेको स्थानीय किसानले पनि बताएका छन् । बाँके डुडुवा–४ का किसान दिनेश मौर्यले रासायनिक मलको अभाव बढ्दै जाँदा आफूहरूले खेतीमा गँड्यौला मल प्रयोग गर्न थालेको बताउनुभयो । 

एभरेस्ट अर्गानिक एग्रोफार्मका सञ्चालक हमालका अनुसार वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदै गएका युवालाई स्वदेशमै कृषि क्षेत्रमार्फत आत्मनिर्भर बनाउन पनि यसले सहयोग पुग्ने उहाँको धारणा छ । “स्थानीय स्रोत–साधनको प्रयोग गरेर अर्गानिक मल उत्पादनमा जोड दिए युवालाई बिदेसिनु पर्दैन,” उहाँले भन्नुभयो । 

उत्पादित मल विशेष गरी हिमाली जिल्लामा बढी ढुवानी हुने गरेको हमालले जानकारी दिनुभयो । स्याउका बोट तथा तरकारी बालीमा यसको प्रयोग बढी भइरहेको उहाँले बताउनुभयो ।  हिमाली क्षेत्रका कृषकले गुणस्तरीय जैविक मल बढी खोज्ने भएकाले सो क्षेत्रमा गँड्यौला मलको बजार विस्तार हुँदै गएको जनाइएको छ ।