हरिकृष्ण ऐडी
मुगु, फागुन २४ गते । मुगु जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार खड्क शाही विजयी हुनुभएको छ। एकमात्र निर्वाचन क्षेत्र रहेको मुगुमा कांग्रेसका शाहीले सात हजार ९१४ मत ल्याएर विजयी हुनुभएको हो।
उहाँले नेकपा (एमाले) का पूर्णबहादुर रोकायालाई एक हजार १९६ मतान्तरले पछि पार्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुगुका निर्वाचन अधिकृत मीमबहादुर कुँवरले जानकारी दिनुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पूर्णबहादुर रोकायाले छ हजार ७१८ मत प्राप्त गरी उपविजेता बन्नुभएको छ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाहीले पाँच हजार ५५५ मत ल्याएर तेस्रो स्थान हासिल गर्नुभयो।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमटाले ५३० मत ल्याउनुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बलबहादुर शाहीले २०३ मत प्राप्त गर्नुभयो। प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का रङ्गवीर परियारले २८० मत प्राप्त गर्नुभएको छ।