महेशकुमार दास
जलेश्वर, फागुन २४ गते। महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उज्ज्वल झाका निकटतम प्रतिद्वन्द्वी बाहेक अन्य ३९ उम्मेदवारको जमानत जफत भएको छ।
मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने कानुनी प्रावधान छ। आइतबार बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार विजयी उम्मेदवार उज्ज्वल झा र उनका निकटतम प्रतिद्वन्द्वी नेपाल सङ्घीय समाजवादी पार्टीका मोहम्मद रिजवान बाहेक अन्य ३९ उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसकेपछि जमानत जोगाउन सकेनन्।
निर्वाचन क्षेत्र नं.३ मा १५ राजनीतिक दल र २६ स्वतन्त्र गरी कुल ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए।
निर्वाचन परिणाम अनुसार विजयी उम्मेदवार झाले ३२ हजार ४५१ मत प्राप्त गर्नुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी रिजवानले ५ हजार ९६९ मत प्राप्त गर्नुभएको छ।
फागुन २१ गते भएको मतदानमा महोत्तरी–३ मा कुल १ लाख १० हजार ४३६ मतदाता रहेका थिए। तीमध्ये ६४ हजार ४८८ मत खसेको थियो। खसेको मतमध्ये ५९ हजार ४७८ मत सदर र ५ हजार १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसअनुसार जमानत जोगाउन कम्तीमा ५ हजार ९४८ मत आवश्यक पर्ने देखिएको थियो।
स्वतन्त्र उम्मेदवार रामआधार कापरले ४ हजार ७९० मत, नेपाली कांग्रेसका बजरङ्ग नेपालीले ४ हजार ३४२ मत, जनता समाजवादी पार्टीकी मिनाक्षी ठाकुरले ३ हजार ९३९ मत, स्वतन्त्र उम्मेदवार हरिनारायण यादवले ३ हजार ५३१ मत तथा नेकपा (एमाले) का मनोज सिंहले १ हजार ५१६ मत प्राप्त गरे पनि जमानत जोगाउन सकेनन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्य धेरै उम्मेदवारले हजार मतसमेत कटाउन सकेनन्। नेपाल कम्युनिस्ट पार्टीका राजकिशोर साहले २४३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेश्वर रायले २२३ मत, जनमत पार्टीका अरविन्द ठाकुरले ४२१ मत, नेपाल जनता पार्टीका विजयकुमार मिश्रले ८३ मत, नेपाल कम्युनिस्ट पार्टी संयुक्तका धिरेन्द्रकुमार शर्माले ७५ मत, नेपालका लागि नेपाली पार्टीका रजनीश राज पाण्डेयले ६४ मत, श्रम संस्कृति पार्टीका मो. साविर नुरीले ५७ मत, उज्यालो नेपाल पार्टीका रञ्जितकुमार साहले २६१ मत, राष्ट्रिय निर्माण दल नेपालका मुस्ताक अहमद अन्सारीले १४२ मत र आम जनता पार्टीका कैलाश महताले १३६ मत प्राप्त गरेका छन्।
चार राजनीतिक दल र २२ स्वतन्त्र उम्मेदवारले १०० मतसमेत कटाउन नसकेको तथ्याङ्क निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको छ।