• २४ फागुन २०८२, आइतबार

रुपन्देही २ मा विजयी हुनुहुने को हुन् सुलभ खरेल ?

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २९ वर्षीय युवा नेता सुलभ खरेल

भुवन कार्की
रुपन्देही, फागुन २४ गते ।
फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही क्षेत्र नंं. २ बाट उम्मेदवार बन्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २९ वर्षीय युवा नेता सुलभ खरेलले निकै बलिया प्रतिस्पर्धी ठानिएका नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई ठुलो मतान्तरले पराजीत गर्नुभएको छ । यसअघि चार पटकसम्म यस क्षेत्रमा चुनाव जित्नुभएका पूर्व मन्त्री समेत रहनुभएका पौडेलले यसपटक लज्जास्पद हार ब्यहोर्नु परेको छ । कुल मत सङ्ख्या ८६ हजार ५३० रहेको रुपन्देही २ मा खरेलले ५६ हजार ५५० मत प्राप्त गर्नुभएको छ भने एमालेका पौडेलले १२ हजार ८६१ प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका चुन्नु पौडेलले नौ हजार ३९२ मत प्राप्त गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका विश्वदीप पाण्डेले एक हजार ४०९ मत प्राप्त गर्नुभएको छ ।

को हुन् सुलभ खरेल ? 
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १६ सेमलारमा वि.सं. २०५४ साल भदौ २७ गते जन्मनुभएका सुलभ खरेल कानुन व्यवसायी पनि हुनुहुन्छ । सामान्य परिवारमा जन्मनुभएका खरेलले विद्यालयतहको अध्ययन रुपन्देहीमै गर्नुभयो । काठमाडौँको त्रिनिटी अन्तर्राष्ट्रिय कलेजबाट बायोलोजीमा प्लसटुसम्मको अध्ययन गर्नुभयो । नेपाल ल क्याम्पस क्याम्पसबाट कानुन विषयको अध्ययन सुरु गर्नुभएका खरेलले विश्वभरबाट उत्कृष्ट २५ जनामा पूर्ण छात्रवृतिसहित नाम निकाल्न सफल भएपछि अमेरिकाको युनिभर्सिटी अफ मिचिङ्गन स्कूलबाट कानुनमा स्नाकोत्ततर तहसम्मको अध्ययन पूरा गर्नुभएको छ । विभिन्न शैक्षिक संस्थामा अध्ययन अध्यापन गरेरको उहाँको अनुभव छ ।

खासगरी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा युवाहरुको नेतृत्व गर्दै राजनीतिमा थप सक्रिय बन्नुभएका खरेलले चुनाव लड्ने पहिलो अवसरलाई सशक्त रुपमा सदुपयोग गर्नुभयो । रुपन्देहीको राजनीतिक इतिहासमा विकासप्रेमी नेता भनेर जबरजस्त परिचय बनाउन खोजिरहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई खेरलले पहिलो प्रयासमै लज्जासपद हारको स्वाद चखाउन सफल हुनुभयो । यसअघि लगातार चार पटकसम्म यहाँ चुनाव जित्नुभएका पौडेललाई फराकिलो मतान्तरले हराउन सक्नु खरेलको ठुलो राजनीतिक उपलब्धी बनेको छ ।  

बदलिँदो राजनीतिक परिस्थितिमा समृद्ध देश निर्माणको अभिभारा आफ्नो काँधमा आएको बताउने खरेलले देशमा ब्याप्त भ्रष्टाचार निवारण, सुशासन र दिगो विकासका लागि आफूले हरसम्भव खटेर काम गर्ने बताउनुहुन्छ । संसदमा पुगेर जनताको बहुपक्षीय हितमा कानुन बनाउने अवसरको रुपमा यो जीतलाई आफूले लिएको उहाँको भनाइ छ । संविधानको रक्षा गर्दै आवश्यकताको आधारमा जनमुखी कानुन बनाउन आफूले पहल गर्ने बताउनुभयो ।

राजनीति पेशा नभएर सेवा हो भन्ने मान्यता राख्ने युवा नेता खरेलेल सधैँ जनताप्रति उत्तरदायी बनेर राजनीति गर्नुपर्नेमा जोड दिनुहुन्छ । आफूले अध्ययन गरेर हासिल गरेको विज्ञतालाई व्यवहारमा उतार्दै नेपालको कानुनी जटिलताको पहिचान गरी समाधान गर्न आफूले प्रयास जारी राखेको उहाँ बताउनुहुन्छ । विगतमा संसद विघटन हुँदा लामो बहस र पैरवी गरेर संविधानको रक्षाका लागि आफू लडेको अनुभव उहाँले सुनाउनुभयो ।

कानुन केवल धाराहरुको संग्रह होइन यसलाई आवश्यकता अनुसार परिवर्तन गरेर निमुखाहरुको पक्षमा बनाउनु पर्छ भन्ने मान्यता राख्ने खरेलले कुन शब्दले कसैको जीवन बदल्न सक्छ र कुन शब्दले कसैको अधिकार खोस्न सक्छ भन्नेमा हेक्का राख्नुपर्ने धारणा राख्नुहुन्छ । निमुखालाई न्याय र संविधानका रक्षाका लागि आफूले अदालतहरुमा बहस पैरवी गर्दै आएको उहाँको भनाइ छ । बिगतमा भएका कैयौं असंवैधानिक नियुक्ति र निर्णयबिरुद्ध संघर्ष गर्नुभएका खरेलले राष्ट्रपतिबाट जनसेवा श्री पदक समेत प्राप्त गर्नुभएको छ । व्यक्तिगत जीत होइन संविधानको रक्षा, देश र जनताको न्यायको लागि आफ्नो जीत भएको उहाँको तर्क छ ।

आफ्नो निर्वाचन क्षेत्रका जनतासँगै सधैँ हातेमालो गरेर काम गर्ने अठोट उहाँले लिनुभएको छ । आफ्ना मतदातालाई उहाँले धन्यवाद समेत दिनुभएको छ ।