राजु लामिछाने
रुकुमपश्चिम, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुकुमपश्चिममा आज मतदान सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान जिल्ला भरमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार जिल्लामा कायम भएका ७६ मतदान स्थल र १४० स्थायी तथा दुई अस्थायी मतदान केन्द्रमा बिहान ७ बजेबाटै निर्वाचन सुरु भएको र बेलुकी ५ बजे सम्पन्न भएको हो ।
जिल्लामा ५९.०३ प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कुल एक लाख ६ हजार ६६० मतदाता रहेकामा जिल्लामा ६२ हजार ९६८ मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जसमा महिला ३४ हजार ६०४ र पुरुष २८ हजार ३६४ जना रहेका छन् ।
मतदान सम्पन्न भएसँगै मतपेटिका सङ्कलनको काम सुरु भइसकेको छ । आजै राती १ बजेसम्म सबै क्षेत्रबाट मतपेटिका जिल्ला सदरमुकाम आईपुग्ने बताईएको छ ।