• २१ फागुन २०८२, बिहिबार

सडक पुगेपछि दुर्गम बन्यो बैतडी !

blog

गोकर्ण दयाल 

बैतडी, फागुन २१ गते ।  गाउँसम्मै सडक पूर्वाधार नहुँदा बैतडी–काठमाडौँ चल्ने सिधा बससेवा यहाँका गाउँ गाउँसम्म सडक पूर्वाधार पुगेपछि चाहिँ बन्द भयो । निर्वाचनमा भोट हाल्न घर फर्किने मतदाता गाडी फेर्दै, बाटोमा बास बसेर घर पुग्नु परेको छ । बैतडी–काठमाडौँ बससेवा आठ वर्षदेखि बन्द छ । 

रोजगारी र अध्ययनका लागि काठमाडौँमा बस्दै अएका बैतडीवासी सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बास बसेर दोस्रो दिन गाडी फेरेर घर पुग्नु परेको छ । बाटोमा बास बस्दा यात्रुलाई थप आर्थिक भार पर्ने गरेको छ । प्रदेश राजधानी धनगढीबाट भने बैतडीसम्म बस चल्ने गरेका छन् । 

काठमाडौँमा अध्ययन गर्दै आएका बैतडीका तारादत्त भट्टले निर्वाचनमा भोट हाल्न बाटोमा बास बसेर गाडी फेर्दै आउनु परेको बताउनुभयो । यो बाध्यता चुनावमा मात्रै होइन, अघिपछि पनि यस्तै समस्या भोग्दै आएको बैतडी मेलौलीका भोजराज भट्ट बताउनुहुन्छ ।  

महाकाली यातायात समिति बैतडीका अध्यक्ष त्रिलोचन थापाका अनुसार आठ वर्षअघिसम्म बैतडी–काठमाडौँ बस चले पनि पछिल्लो समय यात्रु नभएका कारण बससेवा बन्द रहेको हो । उहाँले बाँदरका कारण बैतडी सदरमुकाम बसाइँसराइले रित्तिएपछि यात्रु पाइन छाडेको दाबी गर्नुभयो । यद्यपि बैतडीबाट १२६ किलोमिटर दुरीमा रहेको दार्चुलाबाट भने काठमाडौँ बससेवा सञ्चालनमा छ । 

काठमाडौँदेखि दार्चुलाको सडक दुरी करिब ९६५ किलोमिटर रहेको छ भने बैतडीसम्मको सडक दुरी ८४९ किलोमिटर छ । राज्यले सरकारी सेवा सुविधामा भने बैतडीलाई सुगम र दार्चुलालाई दुर्गम मानेको छ । बिदामा घर गएका सरकारी कर्मचारीले बसमा यात्रा गर्दा दार्चुलाभन्दा बैतडीको यात्रा महँगो हुने गरेको छ । 

बैतडी (सुगम जिल्ला) का नरेश दमाईं छोराको नियमित उपचारका लागि काठमाडौँ जाँदा बैतडीबाट जिप चढेर दुर्गम जिल्ला मानिएको दार्चुलाको बस पछ्याउने गरेको बताउनुभयो । अहिलेको अवस्थामा बैतडी जिल्ला देशका ७७ वटै जिल्लामध्ये सबैभन्दा बढी दुर्गम बनेको दशरथ चन्द नगरपालिका–८ का हिम्मत चन्द बताउनुहुन्छ । उहाँले सरकारी तथ्याङ्कले नै बैतडी जिल्ला देशका १० गरिब जिल्लाको सूचीमा राखेर सुगम भन्नु न्यायोचित नभएको बताउनुभयो । 

विमानस्थल पनि बन्द  

सरकारले १७ करोड रुपियाँ खर्च गरेर निर्माण गरेको बैतडीको पाटन विमानस्थल पनि उद्घाटनसँगै बन्द भएको छ । विमानस्थल कालोपत्रे गरेर २०७७ असोज १७ गते उद्घाटन भए पनि हवाई उडान भने नियमित हुन सकेको छैन । 

उद्घाटनपछि करिब एक वर्षसम्म हप्ताको एक दिन धनगढी–बैतडी–धनगढी उडान भए पनि २०७८ चैतदेखि यहाँ कुनै विमान आएको छैन । यहाँ साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको थियो । भाडा महँगो भएको यात्रुले गुनासो गर्दै आइरहेका थिए । गुनासोकै बिच उडान बन्द भयो । 

यहाँ विसं २०३६ देखि २०५२ सम्म कच्ची विमानस्थलमै करिब १६ वर्षसम्म नियमित हवाई उडान हुन्थ्यो । द्वन्द्वपछि यो विमानस्थल २५ वर्षसम्म ठप्प रह्यो । विमानस्थल नियमित सञ्चालन गर्न करोडौँ रुपियाँ खर्च भए पनि हवाई उडान नहुँदा बैतडीवासी निराश बनेका छन् । 

२० मिटर चौडाइ र ५८० मिटर लम्बाइ रहेको यो विमानस्थल सुदूरपश्चिमको प्रदेश राजधानी धनगढीबाट १७ मिनेटको हवाई दुरी छ । करोडौँ रुपियाँ खर्च गरेर धावनमार्ग र टर्मिनल भवन चिटिक्क बनाए पनि उद्घाटनपछि बैतडीको आकाशमा विमान देखा नपरेको स्थानीय केशव खत्रीले बताउनुभयो । उडान बन्द हुँदा विमान चढ्ने धोको अधुरै रहेको उहाँको गुनासो छ । 

बसाइँसराइ मुख्य समस्या 

बसाइँसराइका कारण पहाडी जिल्ला बैतडीको जनसङ्ख्या हरेक वर्ष ऋणात्मक हुँदै गएको छ । २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेको थियो । २०७८ को जनगणना हुँदा छ हजार ४९८ जनसङ्ख्या घटेर दुई लाख ४४ हजार चार सयमा झरेको छ । तथ्याङ्क अनुसार पहाडी जिल्ला बैतडीको वार्षिक जनसङ्ख्याको ह्रासदर माइनस ०.२५ प्रतिशत रहेको छ ।

जिल्ला सदरमुकाम रहेको दशरथ चन्द नगरपालिकाबाट तराईका जिल्लामा बसाइँ सर्नेको सङ्ख्या पछिल्लो समय ह्वात्तै बढेको छ । बसाइँसराइले दशरथ चन्द नगरपालिका–४, ५, ६, ८ र १० का सयौँ परिवारको ७५ हजार १०४ रोपनी जग्गा बाँझो छ ।

नगरको पञ्जीकरण शाखाको तथ्याङ्क अनुसार आव २०८०/८१ को एक वर्षको अवधिमा यहाँका ८५४ परिवार (करिब तीन हजार जनसङ्ख्या) ले बसाइँ सरी गएका छन् । पछिल्लो तीन वर्षयता दशरथ चन्द नगरपालिकाको ४० हजार जनसङ्ख्या घटेर ३० हजारमा झरेको छ । 

निर्वाचनका बेला हरेक पार्टीका उम्मेदवारले गुलिया नारा बाँडे पनि बसाइँसराइ रोक्ने कसैले पनि योजना नबनाएको स्थानीयको गुनासो छ । बाँदर मात्रै धपाइदिए जनसङ्ख्या रोकिने स्थानीयवासीको विश्वास छ ।