• १६ भदौ २०८१, आइतबार

वनको जग्गामा घरटहरा निर्माण

blog

सर्लाहीको कालिञ्जोरस्थित दोङखोरिया गाउँमा वनको जग्गामा निर्माण गरिएका घर । तस्बिर : जनार्जन खत्री

सर्लाही, साउन ४ गते । सर्लाहीको उत्तर–पूर्वी भेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोर दोङखोरियामा वनको जग्गा बेचबिखन गरी धमाधम घरटहरा निर्माण भइरहेका छन् ।  फूलजोर बाबा साझेदारी वनक्षेत्रको पलोट (चौडी)मा पक्की घरसमेत निर्माण भएका छन् । सहर बजारको जस्तै वनको जग्गामा पक्की घर निर्माण गरी व्यापार व्यवसाय सञ्चालन भइरहेका छन् ।

आसपासका स्थानीयका अनुसार आपसमा कागज बनाएर वनको जग्गा खरिद बिक्री भइरहेको छ । केही वर्षअघिसम्म सिसौले भरिएको पलोटक्षेत्रमा अहिले घर निर्माण गर्नुका साथै मकै, तोरी, बेसारलगायतका बाली र तरकारी खेती भइरहेको छ । 

पलोटका सबै सिसौ रातारात काटेर बेपत्ता पारिएको छ । सुकुम्बासीको नाममा पलोटको जग्गा अतिक्रमण गरेर बिक्री गरी आम्दानी गर्नेमा केही समूह देखिएका छन् । राम्रो बाली उब्जिने भएकाले पलोट क्षेत्रको जग्गामा बाहै्र महिना खेती लगाइन्छ । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोर चोकबाट नौ किलोमिटर उत्तरमा पर्ने कालिञ्जोरको दोङखोरिया क्षेत्रमा स्थानीय केही परिवार र छिमेकी गाउँ देउराली, झरझरालगायतका क्षेत्रबाट आएका व्यक्तिले वनको जग्गा अतिक्रमण गरी घरटहरा निर्माण गरी खेतीपाती गर्दै आएका छन् । वन अतिक्रमण गरेर बसेकै बस्तीमा नगरपालिकाले गत वर्ष नाला निर्माण गरेको थियो ।

गाउँमा बिजुलीको सुविधा पनि पुगेको छ । केही वर्षअघि साविक जिल्ला वन कार्यालयले सुरक्षाकर्मीको सहयोगमा त्यस ठाउँमा वन अतिक्रमण गरी बनाइएका संरचना भत्काउनुका साथै बालीनाली नष्ट गरेको भए पनि पछिल्लो समयको अतिक्रमण खाली गराउन चासो दिएको छैन ।

सुरुमा केही घर निर्माण गरिएका भए पनि अहिले बाक्लो बस्ती बसेको छ । डिभिजन वन कार्यालय सर्लाहीले अतिक्रमण नियन्त्रणका लागि नियमित गस्ती गर्नेदेखि अन्य गतिविधि गर्दै आइरहेको जनाएको छ । डिभिजन वन कार्यालय सर्लाहीका सहायक वन अधिकृत साजन चौधरीले अतिक्रमण गरिएका कतिपय क्षेत्रमा अतिक्रमण हटाएर वृक्षरोपण गरिएको बताउनुभयो । उहाँले थप वनक्षेत्र अतिक्रमण हुन नदिन कालिञ्जोर क्षेत्रमा तारबारको कामसमेत भएको जानकारी दिनुभयो । 

सर्लाहीमा पछिल्लो समय संरक्षण र कडाइका साथ रेखदेख नहुँदा फूलजोर बाबासहित केही साझेदारी वनमा तस्करी बढेको छ । वन रक्षकको आँखा छलेर तस्करले सरकारी वनबाट काठ तस्करी गर्दा वन क्षेत्र उजाड बन्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

Author

जनार्जन खत्री