• १८ फागुन २०८२, सोमबार

नारायणी पुलले मेघौली–पिठौली जोडिने : उम्मेदवार भूर्तेल

blog

बोमलाल गिरी
नवलपुर, फागुन १८ गते ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नवलपुर क्षेत्र नं. १ का उम्मेदवार लोकप्रसाद भूर्तेलले मेघौली र पिठौलीलाई नारायणी पुलले जोडिने बताउनुभएको छ । चितवन–नवलपरासी क्षेत्रमा स्थानीय आवश्यकता अनुसार मेघौली र पिठौली जोड्ने घोसरघाट पुलको निर्माण हरेक निर्वाचनमा उठ्ने विषय हो।

मौन अवधि सुरु हुनुअघि पत्रकार सम्मेलन गर्दै भूर्तेलले यो पुल निर्माण आफ्नो पहिलो प्राथमिकतामा राखेको बताउनुभयो। नवलपुरको मध्यभाग कावासोती र पश्चिम चितवनको ठूलो क्षेत्रलाई करिब ३ किलोमिटर दूरीमै जोड्दा दुई जिल्लाको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ।

“निकुञ्ज छ, कर्मचारीले टेर्दैनन् भन्नु वाहियात कुरा हो। म जनताको दैनिकी सहज बनाउन उम्मेदवार बनेको हुँ। संसदबाट नीति बनाएर पनि नारायणीमा पुल निर्माण गरिनेछ,” उहाँले भन्नुभयो। हालको पूर्व–पश्चिम राजमार्ग नबन्दै पश्चिम त्रिवेणीदेखि माडी–ठोरी जोड्ने हुलाकी सडक यस क्षेत्रमा सबैभन्दा चल्तीको मार्ग हो।

पत्रकार सम्मेलनमा भूर्तेलले विभिन्न दलसहितको बृहद गठबन्धनबाट नेपाली कम्युनिस्ट पार्टीका तारा चुनाव चिन्ह लिएर चुनावमा उठेको र जनताको समर्थनले जित सुनिश्चित रहेको दाबी गर्नुभयो। उहाँले राजनैतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, संविधानको रक्षा, आत्मनिर्भर अर्थतन्त्र निर्माण र अन्तर–पुस्तक युवा लक्षित कार्यक्रमजस्ता प्रतिबद्धतासमेत अघि सार्नु भएको छ।

साथै भूर्तेलले स्थानीय आवश्यकता पूरा गर्न औद्योगिक क्षेत्र निर्माण, वैज्ञानिक फोहर व्यवस्थापन, तटबन्ध, विद्युत, खानेपानी, सिँचाइ, कुलो, उत्तर–दक्षिण सडक स्तरोन्नती र सुकुम्वासी समस्या समाधानलगायतका योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो।