प्रकाशविक्रम शाह/एकिन्द्र तिमिल्सेना
धनगढी, फागुन १८ गते । युवाको माग बढिरहेका बेला सुदूरपश्चिमबाट प्रतिनिधि सभाको निर्वाचनमा ४० वर्षमुनिका उम्मेदवार कम रहेको पाइएको छ । ठुला चार दलले उठाएका ७३ प्रतिशत उम्मेदवार ४१ देखि ६० वर्ष उमेर समूहका रहेका छन् । संविधानतः २५ वर्ष पूरा भएको नेपाली नागरिक उम्मेदवार बन्न पाउने व्यवस्था छ ।
निर्वाचन आयोगको तथ्याङ्क हेर्दा सुदूरपश्चिममा प्रतिनिधि सभाका १६ क्षेत्रमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ६४ जना उम्मेदवारको उमेर समूह हेर्दा ७३.४ प्रतिशत अर्थात् ४७ जना ४१ देखि ६० वर्ष उमेर समूहका छन् । १२.५ प्रतिशत अर्थात् आठ जना उम्मेदवार ३१ देखि ४० वर्ष उमेर समूहका छन् । यस निर्वाचनमा ४.७ प्रतिशत अर्थात् तीन जना ३० वर्षमुनिका र ९.३ प्रतिशत अर्थात् छ जना ६० देखि ७० वर्ष उमेर समूहका छन् ।
३० वर्षमुनिका उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कैलाली क्षेत्र नम्बर २ मा उम्मेदवार केपी खनाल २६ वर्ष, अछाम क्षेत्र नम्बर १ बाट उम्मेदवार ओमप्रकाश रावल २७ वर्ष र अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार भूपदेव शाह ३० वर्षको हुनुहुन्छ । ३१ देखि ४० वर्ष उमेर समूहमा रास्वपाबाट बाजुरामा ३३ वर्षीय हेमराज थापा, बझाङमा ३८ वर्षीय शैलेशकुमार विष्ट, कैलाली क्षेत्र नम्बर ३ मा ३९ वर्षीय जगतप्रसाद जोशी, कञ्चनपुर क्षेत्र नम्बर २ मा दीपकराज बोहोरा, क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्र महता हुनुहुन्छ । नेकपाबाट कैलाली क्षेत्र नम्बर २ मा ३९ वर्षीय नन्दबहादुर साउद, कञ्चनपुर २ मा ३९ वर्षीय माधवप्रसाद पन्त र एमालेबाट डोटीमा ३२ वर्षीय दीपक धामी हुनुहुनछ ।
सबैभन्दा बढी उमेर समूहमा अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भीमबहादुर रावल र नेपाली कांगे्रसका उम्मेदवार भरतकुमार स्वाँर दुवै जना ७० वर्षको हुनुहुन्छ । कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मानबहादुर सुनार पनि ७० वर्षको हुनुहुन्छ । डोटीबाट नेपाली कांगे्रसका उम्मेदवार भरतबहादुर खड्का ६८ वर्षको हुनुहुन्छ ।
कैलाली ४ का उम्मेदवार लेखराज भट्ट ६६ वर्ष, अछाम क्षेत्र नम्बर २ मा नेपाली कांगे्रसका उम्मेदवार पुष्पबहादुर शाह र बलबहादुर कुँवर दुवै जना ६४ वर्षको हुनुहुन्छ । कञ्चनपुर क्षेत्र नम्बर २ मा नेपाली कांगे्रसका उम्मेदवार नारायणप्रकाश साउद ६३ वर्षको हुनुहुन्छ । अछाम क्षेत्र नम्बर २ का कुँवरबाहेक ६० नाघेका सबै उम्मेदवार यसअघि संसद्मा पुगिसकेका छन् । कञ्चनपुर क्षेत्र नम्बर ३ का मानबहादुर सुनार २०७४ सालमा सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो । सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा २०६ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ । १८ जना महिला उम्मेदवार रहेकोमा ठुला दल नेपाली कम्युनिस्ट पार्टीले कञ्चनपुर क्षेत्र नम्बर १ मा बिनामगर र राष्ट्रिय स्वतन्त्र पार्टीले कैलाली क्षेत्र नम्बर १ मा कोमल ज्ञवालीलाई उम्मेदवार उठाएको छ ।
मुख्य दल कांग्रेस, एमाले र नेकपामा ४० वर्षमुनिकाले उम्मेदवार हुन दाबेदारी नै कम गरेकाले उम्मेदवार बन्न नपाएको ती दलले बताएका छन् । कांग्रेसमा कैलाली क्षेत्र नम्बर ४ मा लोकराज पाण्डे र कैलाली क्षेत्र नम्बर ५ का केशव मिश्रले बलियो दाबेदारी गर्दा पनि उम्मेदवार हुने अवसर पाउनुभएन । मिश्रले भन्नुभयो, “कैलालीका पुराना पुस्ताकाले मलाई पत्याएनन् र उम्मेदवार हुन दिएनन् ।” एमालेले पनि कञ्चनपुर क्षेत्र नम्बर १ बाट ३५ वर्षीय कमला बोहोरालाई पाइसकेको टिकटबाट वञ्चित गरेको थियो ।
एमालेका प्रदेश सचिव रणबहादुर चन्द उम्मेदवार बन्ने कुरा हरेक क्षेत्रबाटै सिफारिस भएर आएको र सिफारिस भएकैबाट उम्मेदवार भएको बताउनुहुन्छ । उहाँका अनुसार डोटीबाट ३२ वर्षका दीपक धामीको सिफारिस आएको थियो, उहाँ उम्मेदवार हुनुभएको छ ।