वसन्त पराजुली
नारायणगढ, फागुन १८ गते । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा चितवन क्षेत्र नम्बर २ को निर्वाचन माहोल तातेको छ । अघिल्ला दुई निर्वाचनमा भारी मतान्तरले चुनाव जित्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले जितको ह्याट्रिक गर्ने तयारीमा हुनुहुन्छ भने बर्सौंदेखि समाज क्षेत्रमा क्रियाशील नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेल, नेकपा एमालेका युवा नेता अश्विन घिमिरे, नेकपाका प्रताप गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगदीश्वर अधिकारीलगायतका २३ जना उम्मेदवार पहिलो जितको खोजीमा हुनुहुन्छ ।
राष्ट्रिय राजनीतिमा समेत चर्चाको केन्द्र बनेको यस क्षेत्रमा लामिछाने २०७९ सालको निर्वाचनमा निर्वाचित हुनुभएको थियो । निर्वाचनलगत्तै सभापति लामिछानेको संसद् पद दोहोरो नागरिकतासम्बन्धी विवादको मुद्दाले खारेजी भएपछि २०८० मा पुनः उपनिर्वाचन भएको थियो । रास्वपाले निलो क्रान्तिको उद्गमस्थल र आधारभूमि मान्ने चितवनमा सभापति लामिछाने भारी मतान्तरले विजयी हुनुभयो । यसअघि सजिलै जित हात पार्नुभएका लामिछानेलाई यो निर्वाचन प्रतिस्पर्धात्मक हुने आकलन गरिएको छ । सभापति लामिछानेले पनि भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै परिवर्तनका पक्षमा हुने मतदाताले आपूm र आफ्नो पार्टीलाई मत दिनुपर्ने बताउनुभयो ।
“तपाईंहरू परिवर्तनको पक्षमा हुनुहुन्छ भने हामीलाई मतदान गर्नुस्, हैन भने पुरानै पार्टीलाई मत दिनुस् । फेरि विकास र सुशासन भएन भनेर हामीलाई गुनासो नगर्नुस्,” उहाँको स्पष्ट भनाइ थियो । देशका विभिन्न अदालतमा लामिछानेमाथि लागेका सहकारी ठगी, सङ्गठित अपराध जस्ता मुद्दाका बिच लामिछाने आफूमाथि राजनीतिक प्रतिशोध साँधेको कुरा मतदातालाई बताउँदै आउनुभएको छ । रास्वपामा अहिले देखिएको क्रेजले उहाँलाई निर्वाचित गराउन सहज हुने विश्वास पनि यहाँ गरिएको छ ।
कांग्रेसकी खरेलप्रति यतिबेला मतदाताको आकर्षण बढेको देखिन्छ । उहाँले आफू यही क्षेत्रमा हुर्केको बढेको र समाजसेवा गरेका कारणले पनि मतदाताले आफूलाई जिताउने विश्वास व्यक्त गर्नुहुन्छ । आफू समाजसेवामा सकिय रहँदा कुनै पनि पार्टी र दल नहेरेकाले सबै मतदाताले आफूलाई मतदान गर्ने उहाँको विश्वास छ ।
यस क्षेत्रका एमालेका उम्मेदवार घिमिरे जेनजीले आफू जस्तै बेदागी उम्मेदवार खोजेको बताउनुहुन्छ । “अहिले देशले खोजेको बेदाग र इमानदार युवा उम्मेदवार म नै हो त्यसैले यो क्षेत्रका मतदाताले मलाई मतदान गर्न उत्साहित छन् । चुनाव म जित्छु,” उहाँले भन्नुभयो । गीत गाएर भोट माग्ने उहाँको नयाँ शैली पनि मतदाताका लागि थप आकर्षण हो । नेकपाका उम्मेदवार गुरुङ पनि युवा नै हुनुहुन्छ । नयाँ जोश र जाँगरले मतदातामा उत्साह थपेको उहाँको भनाइ छ । “नेकपा अहिले जनताको मन मुटुमा छ । यस चुनावमा नेकपाको जित सुनिश्चित छ,” भरतपुरको आँपटारीमा आयोजित चुनावी कोणसभामा बोल्दै उहाँले भन्नुभयो ।
जनजाति तथा आदिवासीको बाहुल्य रहेकाले पनि आफूलाई यो क्षेत्रबाट चुनाव जित्न सहज हुने उहाँको विश्वास छ । यस क्षेत्रमा ६० हजार २९४ महिलासहित एक लाख ३७ हजार १५२ मतदाता छन् । ४८ मतदान स्थल र १५२ मतदान केन्द्र छन् ।